१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्वतीको जन्मस्थलमा ‘पार्वतीधाम’ बनाइने, माटोको माला र ढुंङ्गाको सियो फेला परेको तथ्य


0
Shares

नवीन शर्मा
पर्वत । पार्वतीको जन्मस्थलको रूपमा विश्वास गरिएको पर्वतको पाङ क्षेत्रलाई ‘पार्वतीधाम’ का रूपमा विकास गरिने भएको छ । कुस्मा नगरपालिका–१ पाङमा हिमालयकी पुत्री पार्वती जन्मेको ठाउँ, तपस्या गरेको पार्वती गुफा र खेल्ने पार्वतीचौर लगायतका क्षेत्र समावेश गरी ‘पार्वतीधाम’का रूपमा विकास गर्न लागिएको हो ।

पार्वती ध्यानमा बस्ने गरेको पार्वती गुफा, स्नान गर्ने गरेको सहस्र धारा, खेल्ने गरेको मैदानलगायतका ठाउँ पाङमै रहेकाले यसको प्रचारप्रसार गर्न हालै एउटा विद्धत सभा आयोजना गरिएको छ । पार्वती पाङमै जन्मिएकी हुन् भन्ने पुराणमा समेत उल्लेख भएका कारण यसको विकास गर्न अभियान थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

‘गौतमबुद्धको जन्मस्थल लुम्बिनी, सीताको जन्मस्थल जनकपुर जस्तै पार्वतीको जन्मस्थल पर्वतलाई पनि धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन आवश्यक भएकाले अभियान शुरु गरिएको हो ।’ पार्वती गुफा संरक्षण समितिका अध्यक्ष छविलाल पौडेलले भन्नुभयो, ‘सबै धार्मिक, ऐतिहासिक र भौतिक तथ्यहरू राखेर यसको प्रचारप्रसारमा जुटेका छौं ।’

संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले पाङमा फेला परेका विभिन्न पुरातात्विक वस्तुहरूले पार्वती पाङमै जन्मिएको भन्ने कुरा पुष्टि गर्नमा सघाउने बताउनुभयो । माटोको माला र ढुंङ्गाको सियो पाङमा नै फेला परेको तथ्य उहाँले जानकारी गराउनुभयो ।

‘यसको रेकर्ड पुरातत्व विभागमा छैन, संग्रहालय बनाएर ती सामग्री राखिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘गुफामा भेटिएका विभिन्न सामग्रीबारे पुरातत्व विभागमा जानकारी गराएर अनुसन्धान गर्न लगाएमा ठाउँको प्रवर्द्धन हुनेछ ।’

गुफामा भेटिएको प्राचिन मूर्ति प्रस्ट रूपमा महिलाको भएको र त्यो पार्वतीकै हो भन्ने विश्वास गर्न सकिने आधार पनि रहेको विश्वास गरिन्छ । पाङलाई पार्वतीधामका रूपमा विकास गर्न सकेमा नेपालबाहिरका पर्यटकसमेतसहस्र धारा र पार्वती गुफामा साधना गर्न आउने स्थानीयको विश्वास छ ।

विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, पाङका बारेमा खोज अनुसन्धानकर्ता डा. षडानन्द पौडेल लगायतले पनि पाङ क्षेत्रको प्रवर्द्धन गरी यसको महिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सके धार्मिक पर्यटकहरुको ओइरो लाग्ने बताउनुभयो ।

पाङ, पार्वतीगुफा तथा गुप्तेश्वरको धार्मिक महत्वका बारेमा बुझाउनका लागि दुई वर्षअघि कुस्मामा महायज्ञ लगाइएको थियो । उक्त महायज्ञमा संकलन भएको रकम र संघ तथा प्रदेश सरकारको सहयोगमा विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति स्थापना गर्ने काम पनि अघि बढेको छ ।

पार्वती गुफा र कुश्मा स्थित गुप्तेश्वर गुफालाई जोडेर धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रयास समेत भइरहेको छ ।