
उपेन्द्र खनाल
तनहुँ । विश्वकै प्राचीन भाषा संस्कृत विशेष गरेर ब्राम्हण समुदायले अध्ययन गर्ने प्रचलन छ। तर तनहुँको दमौलीस्थित महर्षी वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा भने बाम्हणसहित मुस्लिम, जनजातिलगायत विभिन्न समुदायका विद्यार्थीहरुले संस्कृत भाषा अध्ययन गरिरहेका छन् ।
विद्यालयमा संस्कृत अध्ययन गर्नेमा बाह्मणभन्दा अन्य समुदायका विद्यार्थी धेरै छन् । संस्कृत विद्यालयमा मुस्लिम समुदायका विद्यार्थीको आकर्षण बढ्दै गएको छ । मुस्लिम समुदायका २९ जना विद्यार्थीले संस्कृत पढिरहेका छन् ।
मुस्लिमका अतिरिक्त विभिन्न जातजातिका विद्यार्थीले पनि संस्कृत अध्ययन गरिरहेका छन् । कोभिड– १९ को जोखिम कायमै रहेका कारण सम्पूर्ण विद्याथीलाई स्वास्थ्य सावधानी अपनाएर माक्स, सेनिटाइजरको प्रयोग गरि पठनपाठन सञ्चालन गरिएको छ ।
कक्षा ९ मा अध्ययन गर्दै आएका रुस्तम मियाँले संस्कृत शिक्षा जीवनको लागि अपरिहार्य छ भन्ने ठानेर कक्षा ३ देखि नै अध्ययन गरेको बताउँछन् । संस्कृत भाषा अन्य भाषाको समेत संरक्षक भएकोले पढ्ने रहर लागेको मियाँको भनाइ छ ।
नयाँ नयाँ भाषा सिक्न रुचाउने मियाँ केही नयाँ कुरा सिक्न पाइने भएको संस्कृत पढ्न आएको बताउँनहुन्छ । ‘सस्कृत पुरानो भाषा हो,’ उहाँ भन्नुहुन्छ ‘यसबाट अैग्रेजी, नेपाली भाषा पनि उत्पादन हुने रहेछ , त्यसैले यहाँ पढ्न आएको हु ।’ रुस्तम जस्तै नेपाली एवं संस्कृत भाषा उपयोगी हुने भएकाले संस्कृत अध्ययन गरेको कक्षा १० मा पढ्ने मुस्लिम समुदायका नाजिर मियाँ बताउँछन् ।
मिया नेपाली भाषा स्पष्ट बोल्नका सकिने भएकाले पढ्न आउने गर्नुहुन्छ । संस्कृत पढेर गाउँ, समाजमा पनि राम्रोसँग बोल्न सहयोग मिल्ने उहाँको अनुभव छ । दुई सय ८१ जना विद्यार्थी अध्ययनरत संस्कृत विद्यालयमा ९५ प्रतिशत दलित तथा जनजाती विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
संस्कृत शिक्षा समयानुकूल छ भन्ने बुझेर सबै धर्मावलम्बी अध्ययनका लागि आएको विद्यालयका प्रधानध्यापक तोयाराज निरौलाले बताउनुभयो । विद्यालय तहमा अध्ययन गरेपछि उत्तरमध्यमा र शास्त्रीसम्मको अध्ययनसमेत महर्षि विद्यापीठमा भइरहेको प्रधानध्यापक निरौलाको भनाइ छ ।
संस्कृत भाषासँग सम्वन्धीत आचरण, नैतिकता, शिष्ठताका कुरा सिक्न र यसलाई भविष्य बनाउने उद्देश्यले विद्यार्थीहरु सस्कृत पढ्न आउने गरेको निरौलाले बताउनुभयो । उक्त विद्यालयमा संस्कृत को भाषा, व्याकरण, कर्मकाण्ड र आयुर्वेद विषयमा पढाइ हुन्छ ।
संस्कृत शिक्षाको महत्व समाजले बुझ्दै आएकोले हिन्दुका अतिरिक्त अन्य धर्मालम्बीहरुको संस्कृत शिक्षाप्रति रुची जागेकोले संस्कृत अध्ययन गर्नेको संख्या बढ्दै गइरहेको विद्यालयले जनाएको छ । महर्षि वेदव्यास संस्कृत माविमा हाल स्नातक तहमा शास्त्रीसम्मको अध्ययन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्