
प्रकाश लिम्बु
तेह्रथुम । फेदापमा ६ वर्षअघि निर्माण सुरु गरिएको स्वास्थ्यचौकी ठेकेदारको लापरवाहीले अललपत्र परेको छ । ठेक्का लिन होडबाजी गरेको ठेकेदार कम्पनीले ठेक्का पारेपछि लापरवाही गर्दा निर्माणाधीन स्वास्थ्य चौकी अलपत्र भएको हो ।
योजना हात पार्ने र पारेपछि निर्माण सम्पन्न गर्न चासो नदेखाउने प्रवृत्तिले स्वास्थ्य चौकी मात्र होइन, जिल्लाका अधिकांश सरकारी भवन पनि अलपत्र परेका छन् । सरकारले ७ सय ५३ स्थानीय तहमा एकैसाथ अस्पताल शिलान्यास गरे पनि स्वास्थ्यचौकी भवनको अलपत्र अवस्थाले शिलान्यासको तामझामलाई गिज्याइरहेको छ ।
स्वास्थ्यचौकी निर्माणका लागि ल्याइएका निर्माण सामग्री यत्रतत्र छरिएरका छन् भने ठेकेदारको समेत अत्तोपत्तो छैन । स्वास्थ्यचौकीको भवन निर्माण अलपत्र हुँदा समेत सम्बन्धित निकायले चासो नदिँदा स्थानीयवासी साधारण उपचारका लागिसमेत जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको स्थानीय प्रकाश फोम्बोको गुनासो छ ।
२ करोड ३० लाख रूपैयाँमा बोलपत्र आह्वान गरिएको भवन १ करोड ५७ लाख रूपैयाँमा निलगिरी निर्माण सेवा काठमाडौंले ठेक्का पाएको थियो । स्वास्थ्यचौकी भवन समयमै सम्पन्न नुहँदा स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या भएको स्वास्थ्यचौकीकी अनमीे मेरिना राईको भनाइ छ ।
समय सीमाभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदारको लापरवाही भएपछि ठेकेदारको खोजी भइरहेको फेदाप गाँउपालिकाका अध्यक्ष हरिकुमार चोङबाङ बताउनुहुन्छ ।
योजना हात पारेपछि लापरवाही गर्ने ठेकेदारलाई कारवाही नगरेसम्म जिल्लाका ठाउँ–ठाउँमा भएका समस्याले निकास पाउने देखिँदैन । यसका लागि स्थानीय सरकार चनाखो हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्