
डिबी विष्ट
बझाङ । पाँच वर्षअघि निकै तामझामका साथ बझाङलाई खुला दिशामुक्त घोषणा गरियो । २०७२ मंसिर १६ गतको तामझाम पछि टोल–टोलमा सार्वजनिक शौचालय बन्ने आश्वासन दिए पनि अहिलेसम्म काम पूरा हुन सकेको छैन ।
सबैलाई आ–आफ्नो घर–घरमा शौचालय निर्माण गर्ने भनिए पनि आर्थिक अभावका कारण सबैको घरमा शौचालय बन्न सकेको छैन । खुला दिशामुक्त जिल्ला घोषणा गरे पनि सार्वजनिक शौचालय नबन्दा सरकारी नारा नारामै सीमित भएको देखिन्छ ।
अहिले पनि सार्वजनिक स्थलमा शौचालय नहुँदा खुला स्थानमा शौच गर्नुपर्ने बाध्यता छ । सदरमुकाम चैनपुरमा समेत सार्वजनिक शौचालय नहुँदा समस्या झेल्नु परेको जयपृथ्वी नगरपालिका–१० का दिवस चन्द्र स्नेहीको गुनासो छ ।
जयपृथ्वी नगरपालिकाको सदरमुकाम चैनपुरको खुल्ला मञ्च नजिकै सार्वजनिक शौचालय भए पनि त्यसको उचित व्यवस्थापन नहुँदा ताला लगाएर राखिएको छ । सार्वजनिक शौचालय हुनु र नहुनेको अर्थ नै नभएको स्थानीयको भनाइ छ । बाहिरबाट आउने व्यक्तिहरूले विभिन्न बाहानामा होटल, पसल तथा खोलामा गएर शौच गर्ने गरेको स्थानीय दमन स्नेही बताउनुहुन्छ ।
बझाङमा रहेका १२ वटै स्थानीय तहहरूले सार्वजनिक शौचालय प्रति चासो नराखेको उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको भनाइ छ । अब स्थानीय सरकारले नै पायक पर्ने सबै स्थानमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने सुर्मेली बताउनुहुन्छ ।
सदरमुकाम चैनपुर, अन्य स्थानीय बजार भाडे, तमैल, झनाना, झोता, बागथला, देउरा, देउलेखमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट बजार पुग्ने सर्वसाधारणले समस्या झेल्नुपर्ने अवस्था छ । खुला दिशामुक्त घोषणा गर्न हतारिएको सरकारले यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्