१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘विप्लव’का दाइ ‘वीरजंग’ चितवनको जेलमा, केन्द्रबाट रिहाइको निर्देशन गएन


0
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी विप्लवका नेता एवं पार्टीका महासचिव विप्लवका आफ्नै दाइ जेलमा बस्न बाध्य भएका छन् ।

केन्द्रबाट निर्देशन नआउँदा नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ चन्द्रबहादुर चन्द चितवनको जेलमै छन् । ‘वीरजंग’ उपनामले चिनिने चन्द गत असोजदेखि चितवनको कारागारमा छन् । दाङबाट पक्राउ परेका उनिविरुद्ध बम विष्फोटको अभियोगमा जिल्ला अदालत नवलपरासीमा मुद्दा चलाइएको थियो ।

मुद्दामा गत असोज २१ गते अदालतले २५ हजार रुपैयाँ धरौटी बुझाउन भने पनि चन्दले अस्वीकार गरेपछि जिल्ला कारागार नवलपरासीमा बस्नु परेको थियो । उनी बिरामी भएपछि उपचार गर्न असोज २८ गते चितवन कारागार सारिएको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिनुभयो ।

रिहाइका लागि केन्द्रबाट कुनै पनि निर्देशन नआएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । सबै विवरण केन्द्रमा पठाइएको र केन्द्रबाट आउने निर्देशन पर्खिएको लामिछानेको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीसँग कुरा भएर चन्दलाई चितवनबाटै रिहाइ गर्न मिल्ने भए पनि केन्द्रले निर्देशन नदिँदा ढिलाइ भएको लामिछानेले बताउनुभयो । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीबीच सहमति भएसँगै जेलमा रहेका नेता कार्यकता रिहाई गर्ने सहमति भएको थियो ।