१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीले भाेलि कोरोनाविरुद्धको खोप लगाउने


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि(आइतबार) कोभिड–१९ कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पतालमा पुगेर कोभिड–१९ कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको हो ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियान सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनुहुने बारे जानकारी दिनुभएको हो ।

त्यसैगरी भोलि नै संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले खोप लगाए सँगै कोरोना विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ ।

कार्यक्रममा मन्त्री त्रिपाठीले कोभ्याक्स लगायत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरीकाले जनतासम्म लैजाने गरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । कोभिड–१९ विरुद्धको खोप अहिलेसम्म उपलब्ध अन्तिम र महत्वपूर्ण औजारको रुपमा भएकाले खोप लगाउनुको विकल्प नभएको बताउनु भयो ।

सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दैछ ।