
कैलाली । उद्घाटनको तयारीमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । आलोक मल्टी कन्सर्न प्रा.लि. नामको उद्योगमा शनिबार दिउँसो १२ बजे अचानक आगलागी भएको हो ।
भोजराज भट्ट र पदम भण्डारीले सञ्चालनमा ल्याउन लागेको शो रुमसहितको उद्योगमा आगलागी भएको स्थानीय विमल बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगलाई फागुन महिनाभित्रै उद्घाटनको तयारी थालिएको थियो ।
३ करोड लगानी भइसकेको उद्योगमा उद्घाटनसम्ममा ५ करोड लगानी गर्ने तयारी थियो । उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपूर्ति गर्ने गृहकार्य थालेका थियो । झण्डै २२ जना कामदार रहेको उद्योगले उत्पादनसँगै आफैँले विक्रि गर्ने लक्ष्य लिएको थियो ।
उद्योग भएको स्थानमा वेल्डिङको काम भइरहेकाले त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्