
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्ताव आए सामना गर्ने बताउनुभएको छ ।
शनिबार आफू पक्षीय सांसदको बैठकमा प्रधानमन्त्री ओलीले आफैंले संसदमा विश्वासको मत नमाग्ने बताउनुभयो । संसदमा विधि र पद्धतिअनुसार आउने प्रस्तावको सामना गर्ने उहाँको भनाइ छ ।
पुनःस्थापित प्रतिनिधिसभाको बैठकको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको थियो । जसमा १ सय १५ सांसद सहभागी भएको ओली पक्षको दाबी छ ।
ओली पक्षिय एक नेताका अनुसार ९१ जना प्रतिनिधिसभाका र २४ जना राष्ट्रियसभाका सदस्य वैठकमा उपस्थित भएका छन् । बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
दाहाल–नेपाल समूहले पनि संसदीय दलमा बहुमत भएको दाबी गरेको थियो । हिजो बसेको दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकमा पनि १ सय १५ जना सांसद उपस्थित भएको दावी गरेको थियो ।
नेकपा विभाजनपछि सांसदहरू वामदेव गौतम, उनकी पत्नी तुलसा थापा र लालबाबु पण्डित दुवैतिर लागेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्