
काठमाडौं । घरेलु टिम न्युजिल्याण्डले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । आज भएको पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज ३–२ ले जितेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ४३ रनको लक्ष्य न्युजिल्याण्डले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा मार्टिन गुप्टिलले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । डेभोन कोन्वेले ३६ रन जोड्दा ग्लेन फिलिप्सले ३४ रन बनाए ।
अष्ट्रेलियाका रिले मेरेडिथले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ४४ रन बनाए । आरोन फिन्चले ३६ रन जोड्दा मार्कुस स्टोनिसले २६ रन बनाए । न्युजिल्याण्डका इश सोधीले ३ विकेट लिए । टिम साउथी र ट्रेण्ड बोल्टले २- २ विकेट लिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस्