१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडकले विकासको ढोका खोल्दा बोबाङवासी दङ्ग, जनजीवन सहज


0
Shares

डम्मर बुढामगर
बागलुङ । शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको जिल्लाको बोबाङ गाउँको परियच अहिले भने फेरिएको छ । ढोरपाटन नगरपालिका–७ र ८ मा पर्ने बोबाङ गाउँको सौन्दर्यमा शिक्षा, स्वास्थ्य र जनचेतनाको विकासले निखारता ल्याएको छ ।

बोबाङ गाउँ अझै पनि धेरैलाई दुर्गम नै लाग्छ । तर, शिक्षा, स्वास्थ्य, यातायात लगायत विकासको पूर्वाधारले गति लिन थालेपछि गाउँको सुन्दरतामा परिवर्तन भएको छ । गाउँका स्थानीय शिक्षित बन्दै गएका छन् । स्वास्थ्य, शिक्षा, खानेपानी यातायात लगायत विकासका पूर्वाधारहरूले बोबाङ जोडिँदै गएको छ ।

ढोरपाटन सिकार आरक्षको ढोकाका रूपमा रहेको बोबाङ गाउँको बीच भागबाट राष्ट्रिय गौरवको योजना सालझण्डी–ढोरपाटन सडक गएपछि विकासले गति लिन थालेको छ । सडकले विकासको ढोको खोलेको स्थानीय मनराज विक बताउनुहुन्छ ।

सडक बोबाङ गाउँवासीलाई मात्र नभएर भूजीखोलेवासीका लागि वदरदान सावित भएको छ । गाउँमा सडक नपुग्दा घण्टौं लगाएर दैनिक उपभोग्य सामान किनबेच गर्नु पर्ने बाध्यता भए पनि अहिले घर–घरमा व्यवसाय गर्न पाउँदा बोबाङबासी दङ्ग छन् ।

मोटरबाटोले गाउँको मुहारनै फेरिदिएको स्थानीय विकको भनाइ ५ । घर–घरमै सवारी साधनले सामान ल्याउँदा गाउँमा चहलपहल बढेको उहाँको भनाइ छ । सडक सञ्जालले गाउँदेखि ढोरपाटन जोडिएपछि व्यापार व्यवसाय गर्नेहरू समेत बढिरहेका छन् ।

घोडा खच्चडमा सामान ढुवानी हुँदै आएको बोबाङ गाउँमा वि.सं. २०६६ मा सडक सञ्जालमा जोडियो । अहिले पनि यदाकदा घोडामा ढुवानी गर्ने गरे पनि पनि पहिलेको तुलनामा धेरै कम भएको छ । सडक पुगेपछि बोबाङवासीलाई आवतजावतमा मात्र सहज भएको छैन, कष्टकर दैनिकी समेत बदलिएको छ ।