
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री सुगा योसीहिदेबीच चीनको पछिल्लो कदमका विषयमा छलफल भएको छ ।
मंगलबार दुई देशका प्रधानमन्त्रीबीच करीब ४० मिनेट भएको टेलिफोन वार्तामा हङकङ र चीनमा रहेका उइगुर मुसलमानको वर्तमान अवस्था लगायतका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जापानी प्रधानमन्त्री योसीहिदेले पूर्वी र दक्षिणी चीन सागरमा चीनको विस्तारवादी रवैयाप्रति पनि चासो व्यक्त गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री योसीहिदेले दुई पक्षीय सहयोग बढाउनुका साथै क्वाड फ्रेमवर्कमार्फत हिन्द प्रशान्त क्षेत्रमा सहयोगलाई अघि बढाउने विषयमा पनि कुरकानी भएको बताइएको छ ।
पछिल्ला केही वर्षहरुमा भारत र जापानबीचको विशेष रणनीतिक र विश्वव्यापी साझेदारीमा सकारात्मक गतिप्रतिपनि सन्तुष्टि व्यक्त गरेको पनि विज्ञप्तीमा जनाइएको छ । साथै उच्च गतिको रेल परियोजनाको प्रगति र दक्ष श्रमिकहरूको सहयोग सम्बन्धी ज्ञापन पत्रमा हस्ताक्षर गरिएको पनि स्वागत गरिएको छ ।
जापानी प्रधानमन्त्री योसीहिदे र भारतीय प्रधानमन्त्री मोदीले क्षेत्रीय स्थितिको बारेमा आफ्नो धारणा आदानप्रदान भएको जनाइएको छ । साथै सन् २०२२ मा दुई देशको कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठलाई भव्यताका साथ मनाउने पनि जोड दिइएको बताइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्