६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विमस्टेकको १७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक अप्रिलमा


0
Shares

काठमाडौं । वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को १७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक अप्रिल १ मा हुने भएको छ ।

श्रीलंकाको विदेश मन्त्रालयले आगामी अप्रिल १ मा १७ औं परराष्ट्र मन्त्रीस्तरीय भर्चुअल बैठकका लागि सबै सदस्य मुलुकलाई निमन्त्रणा पठाइएको जनाएको छ ।

श्रीलंका विमस्टेकको वर्तमान अध्यक्ष मुलुक हो । परराष्ट्रमन्त्रीस्तरीय बैठक अगाडि मार्च ३१ मा उच्च अधिकारीहरुको बैठक हुने छ ।

सो बैठकले शिखर सम्मेलनको मिति तय गर्ने बताइएको छ । श्रीलंकाले यसै वर्ष हुने शिखर सम्मेलनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्नका लागि विदेश मन्त्रीस्तरीय बैठकको आयोजना गर्न लागेको बताएको छ ।

सम्मेलन भर्चुअल माध्यमबाट हुने कि भौतिक रुपमा नै भन्नेचाहिँ यकिन भएको छैन । यस विषयमा परराष्ट्रमन्त्रीहरुले आपसमा परामर्श गर्नेछन् ।

हरेक दुई वर्षमा हुनुपर्ने सम्मेलन सन् २०२० मा हुनुपर्ने थियो तर कोरोना महामारीको कारण आयोजना हुन सकेन ।

सन् २०१८ मा विमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो ।

कोरोना महामारीको असर कम हुँदै गएपछि यस वर्षको अन्त्यतिर शिखर सम्मेलन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो ।

विमस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड सदस्य रहेका छन् ।