
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उमेर बढ्दै गएपनि आफूले क्रान्ति गर्न नछाड्ने बताउनुभएको छ । बिहीबार माओवादी केन्द्रनिकट स्वास्थ्यकर्मीहरुको भेललाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो उमेर ६७ वर्ष भए पनि अझै क्रान्तिको भोक रहेको बताउनुभयो ।
‘उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उहाँले भन्नुभयो, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म छोड्नेवाला छैन, म लड्नेवाला छु ।’
दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो प्रतिवेदन लेख्दा आफूले नयाँ क्रान्ति गर्ने सोच बनाएको बताउनुभयो । उहाँले आफू पुनः दुई चार वर्ष जनतामाझ गएर आफ्नै खुट्टामा उभिएर मात्र काठमाडौं आउने खुलासा गर्नुभयो ।
नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै दाहालले त्यसलाई सुधार गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’
प्रतिक्रिया दिनुहोस्