
दीपक श्रेष्ठ
काठमाडौं । कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षमा झैं साधुसन्तको भीड लागेन ।
विगतका महाशिवरात्रिमा भारतबाट ५ सय हाराहारीमा नागा बाबाहरू पशुपतिनाथको दर्शनमा आउने गरेकोमा यस पटक नागा बाबाहरूको संख्या निकै घटेको पाइयो । कोषका निर्देशक डा. घनश्याम खतिवडाले यो वर्ष करिब १ सयको हाराहारीमा नागा बाबा पशुपतिनाथ आएको बताउँदै दर्शनार्थीको संख्या पनि घटेको बताउनुभयो ।
महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तका लागि संस्थानले पशुपति क्षेत्रको राम मन्दिर परिसरमा फाल्गुन कृष्ण एकादशीदेखि खाने, बस्ने र धुनीको व्यवस्था गरेको छ । साधुसन्तलाई बस्ने व्यवस्था गरिएको राम मन्दिरमा रहेका अधिकांश साधु सन्तहरू भने गाँजाको व्यापारमा व्यस्त देखिन्थे ।
नेपालमा गाँजालाई लागुऔषधको सूचीमा राखेका कारण यसको खरिदविक्री र प्रयोग गर्नु अवैध हो । यस्ता क्रियाकलापलाई निरुत्साहित पार्न आफूहरुले ध्यान दिएको प्रहरीले जनाएको छ । पशुपति क्षेत्रमा कुनै पनि अवैध क्रियाकलाप हुन नदिन प्रहरी सचेत रहेको काठमाडौं प्रहरीका प्रमुख अशोक सिंह बताउनुहुन्छ ।
फाल्गुन औंसीका दिन साधुसन्तहरूलाई सम्मानसहित दक्षिणा दिएर विदाई गर्ने चलन छ । विदाई गर्ने क्रममा भने साधु सन्तको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्