
काठमाडौं । नेकपा (एमाले)का सचिव एवं माधवकुमार नेपाल पक्षीय नेता भीम आचार्यले राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
शुक्रबार इमेज टेलिभिजनसँगको कुराकानीमा आचार्यले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । सबै दलसँगको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा भए पनि सहमतिको सरकार बनाउनुपर्ने उहाँको भनाइ छ ।
आचार्यले दोस्रो विकल्पमा पनि हुनसक्ने बताउँदै राष्ट्रिय सहमतिको सरकार नबनेको खण्डमा बामपन्थी सरकार बनाउनुपर्ने बताउनुभयो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः मिलेर बामपन्थी सरकार बनाउनुपर्ने उहाँकाे भनाइ छ । जनताले बामपन्थी दलहरूलाई पाँच वर्ष सरकार बनाउने ‘म्यान्डेड’ दिएकाले त्यसैगरी अघि बढ्नुपर्ने बताउनुभयो ।
तत्कालको अवस्थामा एमालेको ओली पक्ष र माधव नेपाल पक्षबीच राम्रोसँग संवाद हुन नसकेको बताउँदै आचार्यले चैत १ गतेको केन्द्रीय कमिटी बैठकबाट दुवै पक्षले मन मिलाउन सुरुवात गर्नुपर्ने टिप्पणी गर्नुभयो । ‘मन मिल्न समय लाग्छ त्यो स्वभाविक हो,’ उहाँले भन्नुभयो, ‘गत महाधिवेशनमा पनि हामीहरू फरक–फरक प्यानलमा बसेर चुनाव लडेका थियौं, केही समय पछि त मिल्यौं, समय लाग्छ तर मन मिल्छ ।’
आचार्यले तत्कालीन नेकपा हुँदा भएका कामको समीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीका सल्लाहकारका कारण एमालेका दुई पक्षबीच फुटको अवस्था आएको उहाँको टिप्पणी छ । सल्लाहकार तथा ओलीनिकट केही साइबर सेनाहरूका अभिव्यक्तिले दुई पक्षबीच द्वन्द्वको अवस्था आउनसक्ने भन्दै उहाँले पछिल्ला केही दिनयता जिल्लाहरूमा भएका झडपका घटना त्यसकै उदाहरण भएको बताउनुभयो ।
गृहमन्त्री एवं माओवादी केन्द्र छोडेर एमालेमा बस्नुभएका नेता रामबहादुर थापालाई एमालेको उपाध्यक्ष बनाउन लागेको विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । थापा लगायत माओवादी छोडेर एमाले प्रवेश गरेका नेताहरूको विषयमा चैत १ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गरी निर्णय हुने उहाँको भनाइ छ ।
आचार्यले अझै पनि सकारात्मक सोच राखेको खण्डमा एमाले र माओवादी केन्द्रको सहकार्य सम्भव रहेको टिप्पणी गर्नुभयो । आचार्यसँगको पूरा अन्तर्वार्ता हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस्