
काठमाडौं । काठमाडौं मेयर्स कपको उपाधि विभागीय टीम नेपाल पुलिस क्लबले उचालेको छ ।
शनिबार भएको फाइनल खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।
एपीएफले दिएको १ सय ५ रनको लक्ष्य पुलिसले २४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । पुलिसका लागि सुनिल धमलाले ५९ रनको अर्धशतकीय पारी खेले । अनिल शाह र कुशल भुर्तेलले समान १५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाउँदै अविजित रहे ।
बलिङतर्फ एपिएफका अविनास बोहरा र भुवन कार्कीले १–१ विकेट लिए ।
यसअघि टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनायो ।
उसका लागि बसन्त रेग्मीले २२, सन्दीप जोरा र अमर रौटेलाले समान १८–१८ रन बनाए । यस्तै भुवन कार्कीले १४ रन बनाउँदा अविनाश बोहराले १२ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ पुलिसका गुल्सन झा र सागर ढकालले ४–४ विकेट लिँदा पवन सर्राफ र ललित राजवंशीले १–१ विकेट हात पारे ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्