
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यसहितको टोलीले महानगरपालिका क्षेत्र भित्रका कोरोनाविरुद्धको खोप केन्द्रको अनुगमन गर्नुभएको छ ।
खोप लगाउन आएका ज्येष्ठ नागरिकलाई प्रमुख शाक्यले प्रधानमन्त्री, मन्त्रीहरू र आफूले समेत खोप लगाइसकेकाले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो । खोप लगाउँदा कुनै समस्या देखिएमा ३२ वटै वडाका जनप्रतिनिधिहरूले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।
शुक्रबार नै प्रमुख शाक्य प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सम्वन्धित केन्द्रका वडाका जनप्रतिनिधिसहित विरेन्द्र सैनिक अस्पताल छाउनी र ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिल केन्द्रमा पनि अनुगमनका लागि पुग्नुभयो । प्रमुख शाक्य ओम अस्पताल पुग्दा अस्पतालका अध्यक्ष डाक्टर आनन्द श्रेष्ठ ज्येष्ठ नागरिकलाई खोप लगाउन प्रोत्साहन दिइरहनु भएको थियो ।
अनुगमनकै सिलसिलामा प्रमुख शाक्यले अहिले पनि केही नागरिकमा कोरोनाविरुद्धको खोप लगाउनु हुन्न भन्ने भ्रम रहेको भन्दै त्यस्तो भ्रममा नपरी ढुक्कसँग खोप सुविधा लिन आग्रह गर्नुभयो । उहाँले सम्पन्न मुलुकहरूमा समेत अहिले खोपको पहुँच नपुगेको अवस्थामा नेपालीले खोप सुविधा पाउनु गौरवको विषय भएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था गरेको छ । महानगरपालिकाले पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्