
सर्लाही । जिल्लामा सञ्चालित चिनी मिलहरू उखु अभावमा बन्द भएका छन् ।
विगतका वर्षहरूमा चैत अन्तिमसम्म सञ्चालनमा आउने मिलहरू उखु अभावका कारण यस वर्ष चाँडै नै बन्द भएका हुन् । उखु बिक्री बापतको रकम लिन झन्झट तथा लागतको अनुपातमा मूल्य समेत नपाउँदा किसानहरू उखु खेतीतर्फ लाग्न छाडेका छन् ।
इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष २५ लाख क्विन्टल उखु पेल्ने लक्ष्य लिएको थियो । तर, २२ लाख १६ हजार क्विन्टल उखु पेलेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । यता, महालक्ष्मी चिनी उद्योगले आठ लाख ९० हजार क्विन्टल उखु पेलेर यो वर्षका लागि बन्द मिल बन्द गरेको छ । उद्योगले किसानको भुक्तानी समेत बाँकी राखेको छ ।
उखु अभाव रहेको भन्दै महालक्ष्मीले अन्तिम समयमा केही दिन भारतबाट समेत उखु ल्याएर पेलेको थियो । उद्योगले आठ लाख ९० हजार क्विन्टल उखु पेलेर फागुन १९ गते नै बन्द भएको हो । त्यसरी भारतबाट अवैध उखु नगद नै तिरेर भित्रायाइएको तर आफूहरूलाई भने भुक्तानी नदिएको भन्दै उखु किसानहरू आक्रोशित भएका छन् ।
यता पछिल्लो दुई वर्षदेखि उखुको भुक्तानी दिन नसकेको अन्नपूर्ण चिनी उद्योग यस वर्ष समेत बन्द छ । यस वर्ष उद्योग सञ्चालनका लागि प्रयास भए पनि किसानले विगतको बक्यौता नपाएकाले यस वर्ष उखु नपाउने देखेरै मिल सञ्चालनमा नआएको हुन सक्ने उखु किसानहरू बताउँछन् ।
उखु बिक्री बापतको रकम लिन झन्झट तथा लागतको अनुपातमा मूल्य समेत नपाउँदा किसान उखु खेतीतर्फ निरास भएको बताउँछन् । लगानी समेत नउठ्ने थालेपछि किसानहरूले उखु खेती छाड्दै गएको उखु उत्पादक महासंघ संघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनाली बताउनुभयो । उहाँले उखु बहुवर्षीय बाली भएकाले एक वर्ष उत्पादन घट्दा यसको असर चार वर्षसम्म पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्