
काठमाडौं । लामो समय कोरोना महामारी र लकडाउनले थलिएको अर्थतन्त्र विस्तारै लयमा आउन थालेको छ । मंसिरबाट लकडाउन पूर्णरूपमा हटेपछि अर्थतन्त्रले लय लिन थालेको हो ।
पछिल्लो समय आर्थिक क्रियाकलापमा सुधार हुुनुका साथै मानिसको चहलपहल पनि बाक्लिनु र उद्योगधन्दा विस्तारै सञ्चालनमा आउनुले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको हो । सरकारले गत वर्षको चैत्र ११ गतेदेखि लकडाउन गरेपछि असोजसम्म व्यापार व्यवसाय उल्लेख्य खुल्न सकेको थिएन ।
असोजसम्म आर्थिक वृद्धिद्धर समेत १५.८ प्रतिशत ऋणात्मक भएको तथ्याङ्क केन्द्रीय तथ्याङ्क विभागले यसअघि नै सार्वजनिक गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात असोजसम्म जम्मा ४.४ प्रतिशतमा आर्थिक वृद्धिदर रहेको प्रक्षेपण विभागले गरेको थियो । तर, कात्र्तिक लागेपछि भने विस्तारै व्यापार व्यवसाय सुधारोन्मुख भएको थियोे ।
पुसपछि कोरोना संक्रमणदरमा पनि कमी आउनु तथा माघबाट खोप लगाउन सुरु हुनुले अर्थतन्त्रमा सकरात्मक सुधार देखिएको जानकारहरू बताउँछन् । यसले अर्थतन्त्र अब सकरात्मक दिशातिर लागेको र आशावादी हुन सक्ने भए पनि उत्साहजनक अवस्थामा नपुगेको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउनुहुन्छ ।
यस्तै आर्थिक क्रियाकलापमा सुधार हुन थालेपछि माघ मसान्तसम्ममा करिब डेढ खर्ब हाराहारीमा कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । यो अवधिमा १ खर्ब ४० अर्ब बढी कर्जा प्रवाह र ८५ अर्ब पुर्नः कर्जा विस्तार भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।
त्यतिमात्र नभएर पछिल्लो समय बजारमा मानिसको चहलपहल पनि बढ्न थालेपछि आर्थिक गतिविधि सुधार हुँदै गएको देखिएको छ । व्यवसायीहरू बजारमा चहलपहल बढेकोले व्यापारमा सुधार आउन थालेको बताउन थालिसकेका छन् ।
कोरोनाको खोप लगाउन थाल्नु, संक्रमणदर घट्दै जानु र बजारमा देखिएको चहलपहल र कर्जा प्रवाहमा सुधार देखिनु्ले आर्थिक क्रियाकलापमा सुधार भएको देखिएको छ । कोरोनाको खोप लगाउन थालेपछि जोखिम पनि कम हुँदै भएको विश्वास गर्न थालिएको छ । यद्यपि जोखिम भने कायमै छ ।
प्रतिक्रिया दिनुहोस्