१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यानमारका नागरिकलाई अमेरिकामा बस्न अस्थायी अनुमति दिने निर्णय


0
Shares

एजेन्सी । अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ ।

म्यानमारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।

म्यानमारमा सैन्य सत्ताका कारण अशान्ति भएकाले त्यहाँ मानवीय सङ्कट पैदा भएको भन्दै अमेरिकाले म्यानमारका नागरिकलाई बस्नका लागि अस्थायी अनुमति दिन लागेको जनाएको छ । अमेरिकाका गृहमन्त्री अलेजान्द्रो मायोर्कासले सरोकारवाला पक्षसँग परामर्श गरेर सो निर्णय गरेका बताउनुभयो ।

म्यानमारमा भइरहेको आन्दोलन र अशान्तिका कारण कसैले म्यानमार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यानमार फर्किन चाहेका छैनन् भने उनीहरूलाई केही समय संरक्षकत्व दिन सकिने गृहमन्त्री मायोर्कासको भनाइ छ ।

यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेहरूलाई लागू हुने निर्णय भएको पनि गृहमन्त्री मायोर्कासको भनाई छ । म्यानमारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरूले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन् ।