
बागलुङ । ढोरपाटन सिकार आरक्षको जग्गा अतिक्रमण बढ्दै गएको छ । ढोरपाटन शिकार आरक्ष कार्यालयले ढोरपाटन सिकार आरक्षको १ सय ८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएको छ ।
आरक्षले शिकार आरक्षको ३४ स्थानमा करिब १ सय ८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएको छ । अतिक्रमण भएको जग्गामा ३ सय ११ घरधुरीको बसोबास रहेको छ ।
आरक्ष कार्यालयले स्थानीयवासीलाई भेला गराई अतिक्रमण नगर्नका लागि आग्रह गरे पनि स्थानीयले अतिक्रण रोकेका छैनन् ।
आरक्षले केही वर्ष अघि ढोरपाटनको पाखाथर, गाडीखोला, छेन्तुङ, खाल्डेखुल्डी, लामखोरिया, सल्लाथान, उत्तरगंगा, नवी, स्यालपाखे लगायतका क्षेत्रमा रहेका ३० घरधुरीले बारबन्देज गरेर रोकी राखेको जग्गाको बारबन्देज हटाइएको थियो ।
१ हजार ३ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सिकार आरक्षमा अतिक्रमण गर्ने दर पछिल्लो समय बढ्दै गएको हो ।
भौगोलिक विकटताका कारण प्रशासनिक सुविधा नभएको र आरक्ष व्यवस्थापन कानून नहुँदा स्थानीयवासीले मनोमानी ढङ्गले जग्गा अतिक्रमण गरी खेतीपाती गर्दै आएका छन् ।
बागलुङको अधिकारीचौर, बोबाङ, निसी र बोंगादोभान, रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा, कोल र काक्री तथा म्याग्दीको लुलाङखोरिया र गुर्जाखानी लगायतका ३४ स्थानमा आरक्ष अतिक्रमण भएको आरक्षले जनाएको छ ।
अतिक्रमण गरेको जग्गामा स्थानीयले आलु, स्याउ र अन्य खेती समेत गरिरहेका छन् ।
ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कंडेलले स्थानीयबासीन्दालाई बारम्बार जग्गा अतिक्रमण नर्गन आग्रह गरेपनि अटेर गरेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्