१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियाका गाउँमा बाघ आतङ्क, खोरबाटै बाख्रा थुत्न थालेपछि बसाइ सर्न थाले स्थानीय


0
Shares

केशव कोइराला
बर्दिया । जिल्लामा बाघले आक्रमण गर्न थालेपछि स्थानीयहरूमा त्रास बढेको छ । मधुवन नगरपालिका खाता करिडोर र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका बस्तीमा बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो ।

जङ्गली हात्ती र अन्य वन्यजन्तुले बेलाबखत बालिनाली नोक्सान गर्नु त सामान्य नै हो । तर, पछिल्लो केही दिन यता बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा समसाँझै घरभित्र बस्न बाध्य भएका छन् । बाख्रा र गाईवस्तु गोठालो जाँदासमेत बाघले आक्रमण गर्ने डर हुन्छ भने बाघले बाख्रा लैजाने हो की भन्ने चिन्ता पनि त्यतिकै छ ।

बाघले गाउँमा गाईबस्तुमाथि आक्रमण गरेको छ । बाख्रालाई खोरबाटै थुतेर लगेको छ भने हलगोरु बाधेको ठाउँमै मारेको छ । साँझ बिहान बच्चाबच्चीलाई शौच गराउन गएको मान्छे फर्केर आउने हो वा होइन भन्ने चिन्ता बढेको स्थानीय रनबहादुर घर्ती मगरको दुःखेसो छ ।

बाघ आउने पिरले रातदिन सताउने गरेको भन्दै घाँस दाउरा मेलापात गर्न निकै जोखिम मोल्नुपर्ने बाध्यता छ । केहिदिन यता बाघले घरपालुवा गाई, भैँसी र बाख्रा खान थालेपछी स्थानीयवासी पनि त्रास बढेको छ । बाघको त्रासले केही स्थानीयले गाउँ नै छाड्न थालिसकेका छन् ।

स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तारबारलगायत अन्य उपाय गर्दा पनि बाघ आउन नछाडेपछि स्थानीयहरू निकुञ्ज र सरकारप्रति आक्रोशित भएका छन् । बाघको आक्रमणबाट बर्दियामा चालु आर्थिक वर्षको अहिलेसम्म आठ जनाको ज्यान गइसकेको छ भने सयौँको संख्यामा घरपालुवा जनावर मारिसकेको छ । प्रशासनले भने सचेतता अपनाउन आग्रहमात्रै गर्ने गरेको छ ।

वन्यजन्तुबाट गाउँमा हुने नोक्सान रोक्न यस वर्ष यहाँका पालिकाले बर्सेनि करोडौं रुपैयाँ बजेट खर्चिए पनि बालुवामा पानी भएको छ । त्यसैले आपतविपतमा परेका बर्दियाका गेरुवा र राजापुरबासीको सुरक्षाको लागि सरकारले बेलैमा सोच्न जरुरी छ ।