१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ओलीको चियापान नेपाल पक्षद्वारा बहिष्कार, नेपालकाे भेलामा जानेलाई कारबाही गर्ने ओलीको धम्की


0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालुवाटारमा आयोजना गरेको चियापान समारोह खनाल–नेपाल पक्षले बहिष्कार गरेको छ ।

मंगलबार ओलीले केन्द्रीय सदस्य र पार्टीका नेताहरूसँगको भेटघाटका लागि आयोजना गरेको चियापानलाई माधवकुमार नेपाल, बामदेव गौतम र झलनाथ खनाल पक्षका नेताहरूले बहिष्कार गरेका हुन् ।

खनाल–नेपाल पक्षले फागुन २८ गते अध्यक्ष ओलीले गरेको महासचिवबाहेकका पदाधिकारी खारेज र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेज नभएसम्म अध्यक्ष ओलीले बोलाएका कुनै पनि कार्यक्रममा सहभागी नहुने यसअघि नै जनाइसकेको थियो ।

यसैबीच आफूले आयोजना गरेको चियापान समारोहमा नआएपछि प्रधानमन्त्री ओलीले पनि भोलि र पर्सि हुने गुटगत भेलामा सहभागी हुने नेता–कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । बालुवटारमा आयोजित चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कार्यकर्ता भेलमा सहभागी नेता–कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

ओलीले पार्टी अनुशासनविपरीतको काम गरे पार्टीको विधान अनुसार कारबाही हुने चेतावनी दिनुभएको हो । सर्वाेच्चको आदेशपछि पार्टी पहिलेकै अवस्थामा फर्किसक्दा समेत केही मानिसहरुले छुट्टै भेला गरेर निहुँ खोजिरहेको भन्दै उहाँले एउटै पार्टीमा बसेर अराजकता सृजना गर्ने र विधि विधान विपरीतका कामहरु गर्ने छुट कसैलाई नदिइने बताउनुभयो ।