२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


केपी ओलीले पार्टीमा गुटबन्दीको सुरुवात गरे– झलनाथ खनाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीको सुरुवात गरेको बताउनुभएको छ ।

बुधबार ललितपुरमा भएको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले एकीकृत भएको पार्टी नेकपा विचार र एकताको साथ अघि बढेको भए पनि ओलीले गुटबन्दीको सुरुवात गरेको बताउनुभयो ।

खनालले केपी ओली नेतृत्वको सरकारले बजेटमा पार्टीका कार्यक्रमहरू लागू नगरेको आरोप लगाउँदै उहाँले त्यसका कारण देश अग्रगतितर्फ जान नसकेको बताउनुभयो । भ्रष्टाचार उन्मुलन गर्ने नारा लिए पनि ओली आफैँले भ्रष्टाचारीको संरक्षण गर्दै भ्रष्टाचारीहरूको पक्षमा उभिएको आरोप लगाउनुभयो ।

राजनीतिक नियुक्ति हुने ४ देखि ५ सय ठाउँमा पार्टीमा सल्लाह नगरी ओलीले आफ्ना धुपौरे र आसेपासेलाई नियुक्त गरेको वरिष्ठ नेता खनालको आरोप छ । दुई तिहाइको सरकार भएको समयमा आफ्नो पार्टीले तीन वर्षमा धेरै प्रगतिशील नीति बनाउन सक्ने भए पनि केपी ओलीको स्वेच्छाचारी कदमले पार्टीमा गतिरोध सिर्जना भएको उहाँको आरोप छ ।

ओलीले पार्टी बैठक राख्नै छाडेको, एकीकृत पार्टीको एकीकरणको काम तीन महिना भित्र पूरा नगरेको खनालको आरोप छ । केपी ओलीको नेतृत्वमा तीन वर्षसम्म पार्टी दक्षिणपन्थी अवसरवादी बाटोतर्फ गएको उहाँको आरोप छ ।