१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२८ गतेको निर्णय नसच्चिए एक हुन नसक्ने शाक्यको भनाइ


0
Shares

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले फागुन २८ गतेको भेला नसच्चिए पार्टी एक हुन नसक्ने बताउनुभएको छ ।

बुधबार ललितपुरमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शाक्यले फागुन २८ गतेको गुटको निर्णयलाई सच्याउने स्थिति बनेको खण्डमा पार्टी एक हुन सक्ने बताउनुभएको हो ।

‘फागुन २८ गतेको गुटको निर्णयलाइ सच्याउने स्थिति बन्यो भने सम्भवतः हामी एकैठाउँमा बस्न सक्छौं,’ उहाँले भन्नुभयो, ‘छलफल गर्न सक्छौं, पार्टीलाई एक ढिक्का बनाउन सक्छौं ।’

भेलामा शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फागुन २८ गते गरेका गुट भेलाको निर्णयलाई खारेज गर्दै भेलामा सहभागी हुन आग्रह गर्नुभयो ।

‘अझै पनि ढिला भएको छैन कमरेड,’ उहाँले भन्नुभयो, ‘पार्टी एकताका लागि २८ गतेको गुटको भेला राखेर सम्पूर्ण पदाधिकारीहरूलाई हटाउने निर्णय खारेज गरेर यो भेलामा आइदिनुस् ।’ शाक्यले आफूहरुले एमालेलाई विभाजन नभइ बलियो बनाउन चाहेको बताउनुभयो ।

शाक्यले आफूहरुले गरेको भेला कुनै गुटले नभइ पार्टीले गरेको दावी गर्नुभयो । पार्टीले आयोजना गरेको भेलामा पार्टीका कार्यकर्ता आउँदा कारबाही गर्ने कुरै नआउने उहाँले बताउनुभयो ।

‘यो पार्टीले आयोजना गरेको भेला हो, गुटले आयोजना गरेको भेला होइन,’ उहाँले भन्नुभयो, ‘भेलामा आफ्ना सुझाव दिनुहोला ।’

केपी ओलीले मंगलबार पार्टीको भेलामा गए कारबाही गर्ने धम्की दिएपछि शाक्यले त्यसको निन्दा गर्नुभएको छ । उहाँले कसैले धम्क्याउँदैमा डर नमान्न पनि सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।