२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जसपाभित्र प्रस्ट दुई धारः एउटा ओलीलाई टिकाउने, अर्को जसरी पनि हटाउने


0
Shares

रोमन आचार्य
काठमाडौं । संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी अहिलेको राजनीतिक गतिरोधमा निर्णायक हैसियतमा पुगेको छ । सत्ता बचाउन र ढाल्न भन्दै जसपा अहिले एमाले र माओवादी केन्द्रको तानातानमा परेको छ । पार्टीभित्र पनि दुई धार हावी भएको छ ।

जस्तोसुकै मूल्य चुकाएर भए पनि ओलीको कुर्सी जोगाउन पछि नहट्ने मनसायमा जसपाभित्रको एक घटक पुगेको छ । उनीहरूको बुझाइमा कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्रीमा ओलीको विकल्प बन्न तयार छैनन् ।

कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो तत्काल देउवाले सत्ताको बागडोर नसम्हाल्नेमा ढुक्क छन् । त्यसैकारण २ सदस्यीय कार्यदल बनाएर सत्तासमीकरणको जोडघटाउमा उनीहरूको ध्यान छ । माग पूरा हुने वातावरण बने ठूलै किमत चुकाउने तयारी छ ।

आफूहरूको माग सम्बोधन गरे प्रधानमन्त्रीमाथि संकट आउन नदिने राजपा नेता डा. सुरेन्द्र झा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सरकारले हाम्रो माग सम्बोधन गर्नुपर्ने दायित्त्व हो र त्यसमा सरकार सकरात्मक छ ।’

रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संसोधन र कार्यकर्तामाथि लागेका राजनीतिक मुद्दा खारेजीको सम्बन्धमा वार्ता भइरहेको छ । देउवाको अलमल र ओलीमा देखिएको आत्मविश्वासले पनि प्रतिपक्षी दलहरू मिल्ने र ओली हट्ने सम्भावनामा उनीहरू ढुक्क छैनन् ।

तर, जसपाभित्र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव ओलीको बर्हिगमनलाई वटमलाइन बनाएर बसेका छन् । डा. भट्टराई आफैँ चाक्सिबारी पुगेर कांग्रेस नेता प्रकाशमान सिंहसँग वार्ता पनि गरिसक्नुभएको छ । तर, जसपाभित्र भने सत्तासमीकरणमा मतान्तरको खाडल गहिरिँदै गएको देखिन्छ ।

ओलीको स्वेच्छाचारी र असंवैधानिक कदम अदालतले सच्याइसकेको अवस्थामा उनैले नेतृत्व गरेको सरकारमा जान नहुने भन्दै जसपा नेता नवराज सुवेदीले सरकारमा जाने विचार सामुहिक धारणा भनाएको बताउनुहुन्छ । प्रमुख प्रतिपक्षी तयार नभएको अवस्थामा जसपाले प्रधानमन्त्री दिने उहाँको भनाइ छ । ओलीले धेरैलाई धोका दिएकाले हुन्छ भनेको आधारमा भर पर्न नहुने धारणा राख्नुहुन्छ ।

संसदमा ३२ सांसदका साथ जसपा चौथो ठूलो शक्ति हो । कांग्रेस र एमाले मिल्न नसके जसपा सत्ताको निर्णायक शक्ति हो । पार्टीभित्र देखिएको वैचारिक मतान्तरले पूर्व राजपा र समाजवादी पार्टीबीचको कित्ताकाटको संकेत गर्छ । पार्टी एकिकरण र समायोजनलाई निचोडमा पुर्‍याउन कसरतमा रहेको दलभित्र सत्ताकेन्द्रीत वैचारिक ध्रुवीकरणले सकारात्मक संकेत देखाएको छैन ।