
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताको कुल रकम मध्ये करिब ७१ करोड रुपैयाँ अनुदान र करिब २ अर्ब १० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको जनाइएको छ । यस आयोजनाले दिगो वन व्यवस्थापनलाई बढावा दिने बताइएको छ ।
विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस आयोजनाले ५० वटा गाउँपालिका र नगरपालिकाहरूलाई सहयोग पु¥याउने बताउनुभयो । आयोजनाले समावेशी जलवायु कार्य तथा नेपालको तुलनात्मक लाभमा आधारित हरित आर्थिक वृद्धिका लागि सुरुवातको विन्दु हुने उहाँको भनाइ छ ।
अपेक्षित परिणाम हासिल भए आयोजनालाई अझ विस्तार गरिने पनि जर्भोसले बताउनुभयो । समृद्धिका लागि वन आयोजनाले नेपालको दिगो वन व्यवस्थापनलाई सुधार गर्दै वनमा आधारित निजी क्षेत्रको विकास गरी वनक्षेत्रको रुपान्तरण गर्न योगदान पु¥याउने बताइएको छ ।
आयोजना विश्व बैंकद्वारा वित्त पोषित गरिएको विगत १५ वर्षकै पहिलो वन क्षेत्र सम्बन्धी लगानी आयोजना हो ।
प्रतिक्रिया दिनुहोस्