
काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडले व्यवसायीलाई एसएमएसमार्फत निमन्त्रणा गरेका थिए, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूसँग निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको भेटघाट, छलफल तथा रात्रिभोजको कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दछु ।’
प्रधानमन्त्री ओलीसँग छलफलका लागि उद्योगी–व्यवसायीलाई बालुवाटार बोलाइए पनि फरक प्रकृतिको कार्यक्रम भएको छ । कार्यक्रमको सुरुमै उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर श्रेष्ठलगायत एमालेमा प्रवेश गर्ने घोषणा भएपछि अधिकांश व्यवसायी आश्चर्यमा परे । ‘प्रधानमन्त्रीसँग भेटघाट र छलफल भनेर निमन्त्रणा आएको थियो, सोहीअनुसार प्रधानमन्त्रीको सरकारी निवासमा गयौँ । तर, केही व्यवसायी एमालेमा प्रवेश गर्ने भनेर घोषणा भएपछि त छाँगाबाट खसेजस्तै भयौँ,’ भेलामा सहभागी एक व्यवसायीले भने ।
शुक्रबार साँझ पाँच सयभन्दा बढी व्यवसायीलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा निम्तो गरिएको थियो । प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादका लागि निम्तो गरिएका अधिकांश व्यवसायी बालुवाटार पुगेका थिए । तर, पार्टी प्रवेशको कार्यक्रमबारे पूर्वजानकारी नगराई छलकपट गरिएको व्यवसायीको गुनासो छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघलगायत सबैजसो संघसंस्थाका पदाधिकारी, प्रतिष्ठित व्यवसायीदेखि खुद्रा व्यापारीसम्मलाई निमन्त्रणा गरिएको थियो । ‘प्रधानमन्त्रीज्यूले निजी क्षेत्रसँग भेटघाट, छलफल तथा रात्रिभोज गर्न चाहनुभएको छ, प्रधानमन्त्रीसँग तपाईंले आफ्ना समस्याहरू खुलस्त राख्नुहोला,’ दुगडसँग भएको संवादबारे एक सहभागीले भने ।
प्रतिक्रिया दिनुहोस्