१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खानेपानीसमेत पैँचो लिनुपर्ने तेह्रथुमको छथरमा हरियाली


0
Shares

प्रकाश लिम्बु
तेह्रथुम । तेह्रथुमको छथर गाउँमा खानेपानीका मुहानहरू सुक्दै जाँदा मानिस र पशु चौपायालाई पिउने पानीको जोहो गर्नै मुस्किल थियो । खानेपानी अभावकै कारण दर्जनौं परिवार बसाइ सरिसकेका छन् । खानेपानीसमेत पैँचो लिनुपर्ने अवस्थाले विस्थापित हुनेको संख्या पनि बढ्दै गएको थियो ।

तर, वर्षौंपछि खानेपानी पुगेपछि भने छथरका स्थानीयमा खुसी भएका छन् । बसाइ सर्न लागेकाहरू पनि गाउँमै बस्ने भएका छन् । गाउँ डाँडामा भएकाले पानी लैजान समस्या हुँदा सुख्खा हुने छथर अहिले भने हराभरा भएको छ ।

स्थानीय सरकारले बृहत् खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँका बासिन्दाको दैनिकी पनि फेरिएको छ । घर–घरमा खानेपानीको धारा पुग्दा एकाबिहानै पानीको लागि भौँतारिनुपर्ने समस्या समाधान भएको स्थानीय बद्रीनाथ क्षेत्री बताउनुहुन्छ । जसले गर्दा समयको पनि बचत भएको उहाँको भनाइ छ ।

सधैँ सुख्खा देखिने स्थानीयका करेसाबारी पनि अहिले हरियाली देखिन थालेको छ । आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुको साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्न पाउँदा स्थानीय मख्ख छन् । आफ्नै करेसाबारीमा तरकारी उत्पादन भएपछि तरकारी किन्ने रकम जोगिँदा बचतसमेत भएको स्थानीय तुलसा श्रेष्ठको भनाइ छ ।

गाउँपालिका भित्रै पर्ने तमोरतटीय क्षेत्रहरू वर्षाैंदेखि खानेपानी समस्याले ग्रसित बन्दै आएका छन् । नागरिहरूको समस्या समाधानका लागि स्थानीय सरकारले चासो दिए पनि स्रोतसाधन अभावका कारण समस्या समाधान गर्न नसकिएको छथर गाउँपालिका–३ का वडाध्यक्ष तुलसीजङ्ग थापा बताउनुहुन्छ ।

खानेपानी पुगेपछि अहिले गाउँमा ढकमक्क तोरी फूलेको देख्न सकिन्छ । सुक्खा बारीमा सागसब्जी र गोलभेडासमेत रोप्न थालिएको छ । खानेपानी आयोजना सञ्चालन भएपछि यहाँका ८ सय घरपरिवार लाभान्वित भएका छन् ।