१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म अध्यक्ष भएको भए बेडरुममै पसेर गाला मुसारेर फकाउथेँ– माधव नेपाल


0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको ठाउँमा आफू भएको भए निवासमै पुगी गाला मुसारेर फकाउने बताउनुभएको छ ।

शनिबार आयोजित आफूनिकट युवा संघ नेपालको भेललाई सम्बोधन गर्दै नेपालले नेतृत्वमा आफू भएको अवस्थामा फोनबाट मात्र नभएर निवासमै गएर फकाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन ।’

नेपालले आफूहरू ओलीसँग असन्तुष्ट भए पनि छुट्टिहाल्ने पक्षमा नभएको बताउनुभएको छ । आफूहरूको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं । केपी ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? हाम्रो मायाप्रीति ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौं ।’

नेपालले पार्टीका सबै कमिटीमा आफ्नो बहुमत भएकाले ओलीले बैठक बोलाउन नमानेको दाबी गर्नुभयो । पार्टीमा आफ्नो बहुमत नपुग्ने भएपछि पूर्वमाओवादीबाट आएकाहरूलाई पार्टी प्रवेश नगराएर नै केन्द्रीय सदस्य बनाएकोमा उहाँको असन्तुष्टि थियो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई कारबाही गरेपछि सो समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै आएको छ ।

चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको सो समूहले सात वटै प्रदेश तथा विभिन्न विभागमा संयोजकहरु समेत तोकेको छ । यस्तै नेपाल–खनाल समूहले महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) को राष्ट्रिय भेला हिजो सम्पन्न गरेको छ । यस्तै सो समहूले आगामी मंगलबार विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।