
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक हजार रुपैयाँका ७८ थान नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई नक्कली नोट छाप्न प्रयोग गरेको मेसिनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका–८ का २९ वर्षीय देवेन्द्र राई र १९ वर्षीय पवन राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ का २८ वर्षीय विश्वराम राई र २४ वर्षीय राजाराम दनुवार रहेका छन् । देवेन्द्र र पवन नाताले दाजुभाई हुन् ।
चितवनको भरतपुर महानगरपालिका– १ बसपार्क क्षेत्रका पसलहरुमा नक्कली नोट दिई सामान खरिद गरेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । चैत ६ गते राति देवेन्द्र र पवनलाई प्रहरीले एक हजार दरका ७८ थान नक्कली नोटसहित पक्राउ गरेको थियो । त्यसपछिको अनुसन्धानमा विश्वराम र राजाराम पनि संलग्न रहेको खुलेको हो ।
मोबाइल पसल चलाउँदै आएका उनीहरुबाट चैत ७ गते नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप, कार्डरिडर, फोटोकपि मेशिन, प्रिन्टर, हार्डडिक्सलगायतका सामाग्री पसलबाटै बरामद गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्