
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल नै हुन सकेन ।
बैठकपछि कांग्रेस नेता रमेश लेखकले पदाधिकारी तथा पुर्व पदाधिकारी बैठकमा नयाँ सत्ता समीकरणका विषयमा छलफल नभएको बताउनुभयो । उहाँले वैकल्पिक सरकार गठनको आवश्यकता महसुश भए कांग्रेस तयार हुने जानकारी दिनुभयो ।
बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काममा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले गरेको प्रगतिका विषयमा समितिले जानकारी गराएको छ ।
मंगलबारसम्मका लागि क्रियाशील सदस्यताको टुंगो लगाएर नामावली केन्द्रीय कार्यालयमा पठाइसक्नु पर्ने भए पनि अहिलेसम्म नौ जिल्लाले सदस्यता इन्ट्री नगराएको पनि नेता लेखकले जानकारी दिनुभयो । पार्टीले सदस्यताको विवरण पठाउन सफ्टवेयरमा इन्ट्री गराउने प्रणाली अपनाए पनि अहिलेसम्म ६९ जिल्लाबाट इन्ट्री शुरु भएको छ ।
सप्तरी, सिराहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पुर्व र डोल्पा जिल्लामा त्यस्तो विवरण इन्ट्री गर्ने कामको थालनी भएको छैन । अहिलेसम्म तीन लाख ९२ हजार सात सय ९४ नाम इन्ट्री भएको मध्ये नवीकरणतर्फ दुई लाख १२ हजार पाँच सय १९ जना र नयाँ सदस्यमा एक लाख ८० हजार दुई सय ७५ जना रहेका छन् ।
६ फागुनमा कांग्रेसको केन्द्रीय समितिले बनाएको तालिका अनुसार चैत १० भित्र नयाँ क्रियाशील सदस्यता र नवीकरण भएका क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा आइपुगिसक्नु पर्ने हो । कांग्रेसले आगामी भदौ ७, ८, ९ र १० गते १४ औँ महाधिवेशन सम्पन्न गर्ने गरी तल्ला तहको कार्यतालिका बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्