
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिनुभयो ।
शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी र मुक्ति प्रधानलगायतका कानुन व्यवसायीहरूसँगको परामर्शपछि माओवादी केन्द्रले पुनरावलोकनमा जाने निष्कर्ष निकालेको हो ।
अदालतले फैसला गरेको ६० दिनभित्र पुनरावलोकन जान सकिने कानुनी प्रावधान छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्यूँताउने फैसला गरेको थियो ।
गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चाहिरहेकाले त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा समेत कानून व्यवसायीहरुसँग छलफल भएको बताउनुभयो ।
माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेताहरूले फैसलालाई राजनीतिक बताउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्