
काठमाण्डौं । कोरोना संक्रमण देखिएपछि लकडाउन भएको ठ्याक्कै एक वर्ष पूरा भएको छ । एक हप्ताका लागि गरिएको लकडाउन पटक-पटक गरी चार महिनासम्म भयो ।
जसका कारण अर्थतन्त्र तहसनहस भयो भने रोग नियन्त्रण हुन सकेन । १ सय २० दिनको लकडाउन गत साउन ६ गतेबाट खुल्ला भएसँगै बजार, पसल, यातायात, कलकारखानाहरु बिस्तारै सञ्चालनमा आए ।
शैक्षिक संस्थाहरु भने ढिला गरी सञ्चालन भए । अनलाईनमाध्यमबाट पढाइरहेका शैक्षिक संस्थाले केही महिनाअघि देखि भौतिक रुपमा विद्यालयमा उपस्थित भएर पढाउन थालेका थिए । लकडाउनकै कारण नयाँ शैक्षिक सत्रको सुरुवातसमेत जेठमा पुगेको छ ।
होटल व्यवसाय, पर्यटन क्षेत्र अझै पुरानै लयमा फर्किन सकेका छैनन् । अन्तराष्ट्रिय उडानहरु नहुँदा, विभिन्न देशले निषेधाज्ञा लगाउँदा र ढुक्क भएर हिड्ने वातावरण बनिनसकेका कारण विदेशी पर्यटकहरु अझै आउन सकेका छैनन् । आन्तरिक पर्यटकले मात्रै पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन सकेको छैन् ।
बिस्तारै देश पुरानै लयमा फर्किदै थियो । तर पुनः विश्वभर कोरोना संक्रमणको दर बढेसँगैं नेपाल कोरोना त्रास एक वर्ष अघि कै अवस्थामा पुगेको छ ।
युरोपका विभिन्न देश, खाडी मुलुक र भारतका विभिन्न राज्यमा कोरोना संक्रमणको दर ह्वातै बढेको छ । पछिल्लो एक महिनामा नेपालमा पनि कोरोना संक्रमणको दर उच्च देखिएको छ । भारतसँग सिमा जोडिएका जिल्लाबाट कोरोना संक्रमण बढ्न सक्ने भन्दै नाकामा कडाइ थालिएको छ ।
कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकामा गएराति देखि नै निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण कम भएसँगै. निर्वाध आवतजावत भएको नाकामा अब स्वास्थ्य परीक्षण गरेर मात्रै आवतजावत गर्न दिइने बताइएको छ । यता, बैतडी जिल्लामा होली खेल्न रोक लगाइएको छ । भारतसँग सीमा जोडिएकाले नाका भएर आउने नागरिकमा कोरोना संक्रमण हुनसक्ने भन्दै हेल्थ डेस्क सञ्चालन गरेर एन्टीजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ ।
यस्तै सीमा नाका जोडिएका विभिन्न जिल्लामा हेल्थ डेस्क स्थापना गरेर परीक्षण गर्ने कामलाई तीव्र बनाउन लाग्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।
कोरोनाको दोस्रो लहर अन्य देशमा जस्तै नेपालमा पनि देखिन थालेको छ । सभा, सम्मेलन नगर्न स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
सरकारले ७७ वटै जिल्लामा क्वारेन्टाइन तयारी अवस्थामा राख्न निर्देशनसमेत दिइसकेको छ । कोरोना संक्रमण हराएको जस्तो देखिएपनि दोस्रो लहर सुरु भएकाले सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले सम्पूर्णमा अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्