
डोलराज रानाभाट
चितवन । फागुन महिनाको पहिलो हप्तादेखि ह्वात्तै बढेका आन्तरिक पर्यटकले चितवनलाई आफ्नो रोजाईमा पार्ने गरेका छन् । विशेषगरी अहिले समूहगत भ्रमणमा निस्कनेहरुले चितवनलाई आफ्नो भ्रमणको पहिलो सूचीमा राख्ने गरेको पाइएको हो।
यो समय आमा समूह, कृषि समूह, विद्यालय, क्याम्पस लगायतका समूहगत भ्रमणमा आउनेहरु बढिरहेका छन् । तीनै मध्यका एक हुनुहुन्छ कृष्णबहादुर थापा । थापा पोखरादेखि चितवन आउनु भएको हाे । चितवनमा रहेको बीसहजारी तालको छेउमा भेटिनुभएको उहाँ एकता आमा समूहबाट ज्यष्ठ नागरिकहरुलाई घुमाउन ल्याएको थापाले बताउनुभयो । ‘बाघ भालु , चरा हरु देख्न पाइन्छ भनेर आमाहरुले इच्छा देखाएपछि घुम्न आएको उहाँकाे भनाइ छ ।
थापाकै भनाइसँगै मेलखान्छ लालशोभा गुरुङको पनि । ज्यष्ठ नागरिकहरुले टेलिभिजन र तस्विरमा वन्यजन्तु देखेको तर वास्तवमै हेर्न रहर भएपछि चितवन रोजाइमा परेकाे गुरुङले बताउनुभयाे । एकता आमा समूहसँगै नव आदर्श सामुदायिक क्ल्व पोखराले पनि सहयोग गरेपछि चितवन, त्यसपछि नवलपुरको सीजि धाम र लुम्निवीसम्म जाने तालिका बनेको गुरुङ बताउनुहुन्छ । जनावर हेरेर, सिसिधाम मन्दिर र लुम्बिनी हेर्न पाइने भएर आएको उहाँको भनाई छ ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले पनि समुहगत आउने पर्यटकहरुको पहिलो राजाई नै चितवन हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार सुविधासम्पन्न होटलहरु हुनु, जंगल नजिकै र घुम्ने माध्यमहरुमा विविधकरण भएकाले पनि पुषदेखि चैत सम्म दैनिक ५० देखि ६० वटा समूहहरु यसरी घुम्न आउदछन् । एउटा समूहमा ४७ देखि १०० जना सम्म हुने गरेको भट्टराइले बताउनुभयो । चितवन घुम्न धेरै माध्यम मध्ये यसरी समूहमा आउने पर्यटकहरुले भने जीप सफारी र हात्ती सफारीलाइ रोज्ने गरेका छन ।
आठ वर्षदेखि पथप्रदर्शकको काम गर्दै आउनुभएका ओम बहादुर कुमाल । कोरोना पछि विदेशी पर्यटक नआएको बताउने उहाँ आन्तरिक पर्यटकको सख्या भने बढिरहेको बताउनुहुन्छ । ‘कोभिडपछि केही कम भएका छन्,’ उहाँले भन्नुभयो ‘पहिले चिनियाँ , विदेशी आउर्थे तर अहिले आन्तरीक पर्यटक बढी आउने गरेका छन् ।’ चितवनमा भ्रमण गरिसकेर पूर्व र पश्चिमको यात्रा तय गर्न सजिलो भएकाले पनि यहाँ आउने आन्तरिक पर्यटक बढिरहेका छन् । तर फेरि कोरोना संक्रमणको जोखिम बढ्ने डरले विस्तारै लयमा आएको यहाँका पर्यटन फेरि रोकिने हो की भनेर व्यवसायि चिन्तित हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्