
सुरेन्द्र भण्डारी
झापा । झापाको कचनकवल गाउँपालिका धान सुपरजोनका रुपमा पाँच वर्ष अघि घोषणा भयो । नेपालकै होचो भू– भागका रुपमा चिनिएको यो ठाउँ आफैंमा महत्वपुर्ण छ । अझ, धान उत्पादनका हिसावले जिल्लामै अब्बल रहेको यो ठाउँलाई सरकारले समेत धान सुपरजोनका रुपमा घोषणा गरेपछि यहाँका कृषक व्यवसायिक खेती प्रति थप उत्साहित बने । तर, किसानको त्यो उत्साह धेरै बर्ष टिक्न सकेन । कारण हो– इँटा व्यवसायीले त्यही ठाउँमा इँटा भट्टा सञ्चालन गर्दै जथाभावी माटो खन्दा खेती योग्य जमिन भट्टामा परिणत हुनु ।
पछिल्लो समयमा गाउँपालिकामा धमाधम इँटा उद्योग खोल्ने र उद्योगलाई चाहिने माटो त्यही खेतीयोग्य जमिन खन्दै लैजान थालेपछि उर्भर भूमि यतिवेला मासिएर भट्टामा परिणत हुन थालेपछि यहाँका कृषक चिन्तित हुन थालेकाछन् । जमिन भएन भने बालबच्चालाई कसरी खुवाउनु भनेर कचनकवल गाउँपालिकाका किसान अमृतलाल राजवंशीले प्रश्न गर्नुभयो । खाने केही नभएपछि बाचेर कसरी खाने उहाँको गुनासो छ ।
चण्डी इँटा उद्योगले कचनकवलका बबलु मियाँको सात कट्ठा, आस्मा सावुद्धिनको एक विगहा, रमा राजवंशीको ८ कट्ठा जमिन एक महिना अघि खरिद गरेको छ । त्यहाँको जमिनको मूल्य विगहाको १२ देखि १४ लाख पर्ने उद्योगीले २० लाख रुपैयाँ विगहा दिएर खरिद गरेको किसानहरू बताउँछन् । उद्योगीले खरिद गरेको जमिनमा धान राम्रो उत्पादन हुन्छ । त्यस आसपासका अन्य किसानले पनि वर्षौँदेखि धान खेती गर्दै आइरहेका छन् । उद्योगीले खरिद गरेको जमिनमा जेसिभी लगाएर माटो खन्दै भट्टा लैजान थालेपछि किसानहरु खेतीयोग्य जमिन मासिनलागेको भन्दै बचाउन लागेका हुन् ।
त्यस्तै सृजना कृषि फर्मका सञ्चालक मनोज भेटवालले ५ वर्षका लागि जमिन लिजमा लिएर खेती गर्दै आएकाछन् । उनले चार विगहा जमिनमा धान लगाएका छन् । खेती गर्दै आइरहेको जमिनको दुई पट्टी खोला छ, अहिले फेरि माटो खनेर जमिनलाई खोला बनाउन लागेपछि खेतीयोग्य जमिन टापु बन्न लागेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराउदासमेत बेवस्ता गरेको उहाँको गुनासो छ ।
यता चण्डी इँटा उद्योगका विष्णु घिमिरेले भने आफ्नो बचाउ गरेकाछन् । आफूले खेतीयोग्य जमिन मासेको नभई उद्योगलाई चाहिने माटोमात्र खनेको बताउनुभयो । चण्डी इँटा उद्योगका सञ्चालक, विष्णु घिमिरले व्यवसाय भएकाले जहाँसुकै खन्न पाउनुपर्ने बताउनुभयो । आफुलाई चाहिने जति मात्रै माटो खानेको पनि उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो ‘खनेको ठाउँमा माछा पाल्न सक्छु, व्यवसाय गर्न सक्छु ।’ उद्योगले मनपरी ढङ्गले खेतको माटो खनी मापदण्ड विपरीत लैजानु र मलिलो जमिनलाई रुखो बनाउने काम गरेका उद्योगलाई कारबाही गर्नुपर्ने कचनकवलका किसानको माग छ । तर, कचनकवल गाउँपालिकाका जनप्रतिनिधि यस विषयमा चुइक्कसमेत बोलेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्