
एजेन्सी । सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र बनेकी छन् ।
विवाह दुई वर्षअघि भए पनि बेहुली युवतीले आफ्नो विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनीहरूको विवाहमा छोरीले गरेका हरेक क्रियाकलाप अहिले भाइरल बनेको छ ।
अमेरिकाकी सारा विकम्यान नामक युवतीले नोभेम्बर २०१९ मा भएको विवाहको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिन् । भिडियोमा सारा र उनका पति स्टेजमा थिए ।
छोरी एली भने तल भुईँमा थिइन् । एलीको हर्कत देखेर त्यहाँ भएका मानिसहरु हाँसिरहेका थिए ।एली कहिले मुन्टो भुईंमा सुताउने त कहिले उठाउने क्रियाकलाप गरिरहेकी थिइन् ।
२३ महिनाको एलीलाई कसैले पनि वास्ता नगरेपछि सारा आफैँले गएर उनलाई बोकेर मञ्चमा गइन् । छोरीलाई बोकेरै उनले औँठी लगाइन् ।
उनीहरूको विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोलाई १ करोड ५० लाख भन्दा धेरैपटक हेरिएको छ । साराको अहिले एक छोरा पनि छ । उनी परिवारको हरेकजसो भिडियो इन्स्टाग्राममा राखिरहेकी हुन्छिन् ।
प्रतिक्रिया दिनुहोस्