
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित ‘आँधीमूल’ मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले मन्दिर आसपासमा विकास निर्माणको कार्य थालेपछि यो क्षेत्र अहिले पर्यटन आकर्षणको केन्द्र बनेको छ ।
आँधीमूल मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढाटाढादेखि आउने गर्छन् । मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा लाग्ने गर्छ ।
आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । त्यसैले पनि मनोकांक्षा पुरा हुने अपेक्षा सहित मानिसहरू टाढाटाढाबाट आउने गरेको स्थानीयहरू बताउँछन् ।
आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले मन्दिर सम्मको पहुँचलाई सहज बनाउन पृथ्वी राजमार्गको सत्रसय देखि आँधिमूल सम्मको सडकलाई कालोपत्रे गर्न बजेट विनियोजन भइसकेको बताउनुभयो ।
पृथ्वी राजमार्गको सत्रसय देखि करीब एक घण्टा पैदलमार्ग हुँदै पुग्न सकिने उक्त ठाउँमा सवारी साधन मार्फत १५ मिनेटमा नै पुग्न सकिन्छ । विशेषगरी सार्वजनिक बिदाको दिन पर्यटकहरू घुम्न र वनभोजका लागि आउने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्