१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा सवारी बढ्यो सडक बढेन, स्तरोन्नतिमा ढिलाइले ट्राफिक व्यवस्थापनमा चुनौती


0
Shares

बिराज रोस्यारा
कैलाली । धनगढीको सबैभन्दा मुख्य सडक चौराहादेखि क्याम्पस रोड भएर दैनिक हजारांै सवारी साधनहरू गुड्ने गर्दछन् । वर्षाैं अगाडिका सवारी साधनको चाप र जनसंख्यालाई ध्यानमा राखेर बनाइएका सडकहरू स्तरोन्नति नहुँदा दैनिकजसो सवारी जाम हुने गरेको छ ।

धनगढीमा सञ्चालित विद्युतीय रिक्सा लेन अनुसार नचल्नु र सम्बन्धित निकायले नियम पालना गराउन नसक्दा पनि सवारी जाम हुने गरेको हो । जथाभावी चल्ने सवारीसाधन, साँघुरो सडक, सडकमा भएका खाल्डाखुल्डीले दैनिक दुर्घटनासमेत बढेको स्थानीय बताउँछन् ।

पछिल्ला वर्षहरूमा धनगढीमा जनसंख्याको चाप बढेसँगै सवारी साधनको संख्या पनि बढेको छ । साँघुरा सडकलाई स्तरोन्नति गरी अहिलेको जनसंख्या र सवारी चापलाई मध्यनजर गर्नुको साटो धनगढी उपमहानगरपालिकाले सडकलाई वर्षेनी टालटुल मात्रै गर्नेगरेको छ ।

धनगढीका सडकहरू साँघुरा भएको र केही सडक निर्माण भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख बिरेन्द्र बोहोरा बताउनुहुन्छ । ट्राफिक व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि निर्माणाधीन सडकहरू छिटोभन्दा छिटो निर्माणसम्पन्न हुनुपर्नेमा बोहोराको जोड छ ।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १ का वडा अध्यक्ष सन्तोष मुडभरी भने सडक निर्माण कार्य भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनुहुन्छ । दुर्घटना न्युनिकरणका लागि सडकका खाल्डा खुल्डीलाई केही समयका लागि पुर्ने काम सुरु गरिसकेको उहाँको भनाइ छ ।

धनगढीका मुख्य सडकका लागि ठेक्का भइसकेकाले चाँडै नै निर्माण सम्पन्न हुने वडाध्यक्ष सन्तोष मुडभरी बताउनुहुन्छ । साँघुरो सडक त्यसमा पनि भएका खाल्डाखुल्डीले सडकमा जाम बढ्दै गएकाले हालको सवारी चापलाई ध्यानमा राखेर सडक स्तरोन्नतिको कार्यलाई अघि बढाउन सम्बन्धित निकायले ध्यान जरुरी छ ।