१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालविवाह अन्त्यका लागि प्रदेश २ सरकारको प्रतिबद्धता


0
Shares

जनकपुर । प्रदेश २ सरकारले बालविवाह लगायत हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि प्रतिबद्धता जनाएको छ । जनकपुरमा भएको एक कार्यक्रममा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सबै खाले कुरिती अन्त्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

बालविवाह अन्त्यका लागि राज्यलाइ निजी क्षेत्र र नागरिक स्तरबाट पनि उत्तिकै सहयोगको आवश्यक पर्ने मन्त्री यादवको भनाइ छ । प्रदेश २ सरकार जातिय, लैगिंकलगायत सबै खालका विभेदहरू अन्त्यका लागि प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।

बालविवाह अपराध भएको भन्दै उहाँले यसलाई पूर्ण रूपमा अन्त्य गर्न सरकारले कानुन निर्माण गर्ने गरी काम गरिरहेको मन्त्री यादवले बताउनुभयो । ‘प्रदेशबाट बालबालिका सम्बन्धी कानुन बनिसकेको छ,’ उहाँले भन्नुभयो, ‘महिला सशक्तिकरण सम्बन्धी कानुन पनि निर्माण भयो, अब बालविवाह पूर्ण रूपमा अन्त्य गर्ने गरि सरकारले कानुन बनाउँदैछ ।’

बालविवाह अन्त्यका लागि सरकारले विभिन्न योजना तथा कार्यक्रमहरू चलाइरहेको जानकारी दिँदै मन्त्री यादवले नीति तथा कार्यक्रममा नै हानिकारक अभ्यास हटाउने नीति लिएको बताउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी प्रदेशसभाका प्रमुख सचेतक परमेश्वर शाहले बालविवाह लगाएत अरु कुरिति अन्त्यका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । प्रदेशसभाबाट बालबालिका सम्बन्धी कानुन बनिसकेकाले बालबालिकाको हक कार्यान्वयनको लागि थप गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । बालविवाह अन्त्यका लागि शिक्षा र चेतनाको आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेश २ सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य रानी कुमारी तिवारी र नेपाली कांग्रेसकी प्रदेश सांसद् मञ्जु यादवले बालविवाह उन्मुलन गर्न जनस्तरमा सचेतना बढाउने गरी कार्यक्रमहरू तयार गर्नुपर्ने धारणा राखे ।

यस्तै कार्यक्रममा विभिन्न धर्मका धर्म गुरुहरूले पनि बालविवाह अन्त्यको लागि प्रतिबद्धता जनाएका छन् । बालविवाह अन्त्यका लागि आफूहरूको सामुहिकता र नेतृत्व आवश्यक पर्ने उनीहरूको भनाइ छ । बालअधिकारकर्मी, अधिकारकर्मी, मानवअधिकारकर्मी, प्रदेशसभाका सांसदहरू तथा प्रदेशका सामुदायिक रेडियोका प्रतिनिधिले बालविवाह अन्त्यका लागि प्रतिबद्ध रहेको बताएका छन् ।