
रोमन आचार्य
काठमाडौं । अन्तिम पटक भन्दै संशोधन गरिएको गरिएको कार्यतालिका लागू गर्न नसक्दा आगामी भदौमा पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुनेमा शंका बढेको छ ।
आधा दर्जनभन्दा बढी जिल्लाहरूमा महाधिवेशन मेरुदण्ड क्रियाशील सदस्यता वितरण नै हुन नसक्नु र केही जिल्लामा पार्टी समायोजनको काम नै टुङ्गोमा नपुग्दा महाधिवेशन कार्यतालिका पुनः संसोधन गर्नुपर्ने भएको छ ।
२०७७ फागुन ७ देखि १० का लागि तय भएको महाधिवेशन २०७८ भदौमा पु¥याउनुको महत्वपूर्ण कारण नै क्रियाशील सदस्यताको विषय थियो । २०७६ माघ १४ गतेबाट सुरु भएको क्रियाशील सदस्यता वितरण र नवीकरण कांग्रेस महाधिवेशनको मेरुदण्ड हो । तर, बिडम्वना अन्तिम पटक भन्दै संविधानसंवत् थपिएको समय वित्दा पनि आधा काम बाँकी नै छ ।
२ सय ७ ठाउँबाट केन्द्रीय सदस्यकाे नामावली इन्ट्री हुनुपर्नेमा १ सय ३८ ठाउँबाट सुरु हुन नसकेकाे क्रियाशील सदस्य छानवीन समितिका संयाेजक रमेश लेखक बताउनुहुन्छ । छिटाे काम सक्न मातहतका निकायलाई निर्देशन दिइसकेकाे उहाँकाे भनाइ छ ।
१० लाख क्रियाशील सदस्य पुर्याएर महाधिवेशन गर्ने महत्वाकांक्षमा कांग्रेस छ । तर, आफैँले देखाएको व्यवहारले त्यो सम्भव देखिँदैन । गत वर्ष असारमा पार्टीलाई संघीय संरचनाअनुसार ढाल्न संगठनमा समायोजन गर्ने निर्णय गरेको कांग्रेसले पटक–पटक म्याद थपे पनि पार्टी समायोजन अझै बाँकी नै छ ।
चैत १० भित्र क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्न भनिए पनि ९ जिल्ला कार्यसमितिबाट नामावली नआएको क्रियाशील सदस्य छानवीन समितिका सदस्य जीवन परियारकाे भनाइ छ । समयमै समायोजन र क्रियाशील सदस्यताले टुङ्गो नपाउँदा असार ५ बाट तल्ला तहदेखि सुरु गरेर साउनम प्रदेशमा र भदौमा केन्द्रीय महाधिवेशन गर्न पक्कै सहज छैन । लफडा बढ्दै गए पार्टीले के गर्छ त ?
जिल्लाभर नै क्रियाशील सदस्य वितरणको कार्य रोकिने अवस्था नरहेको सदस्य परियार बताउनुहुन्छ । पदाधिकारीहरुलाई समयसीमाभित्र सदस्यता नविकरण र वितरण गरेर इन्ट्री गराइदिन उहाँले आग्रह गर्नुभयो ।
भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यतामा रहेको कांग्रेसले चैत २० गते बैठक बसेर कार्यतालिका हेरफेर गर्ने तयारीमा छ । पटक–पटक म्याद थपेर ५० प्रतिशत पनि काम नहुँदा कांग्रेसले तोकिएको मितिमा महाधिवेशन गर्ला भन्नेमा शंका गर्ने ठाउँ उसैले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्