
संजिव कार्की
प्राणी जगतको लागि मृत्यु जन्मदै करारनाम गरिएको एक अदृश्य र अज्ञात अनिवार्य अनि सत्य सम्झौता पत्र हो l मृत्यु अवश्य आउछ त्यो ज्ञात छ, तर कहिले र कसरी आउँछ त्यो कसैको लागि र कहिल्यै ज्ञात छैन l तसर्थ मृत्यु भयसँग जहिल्यै शसंकित र आतंकित छ मान्छे l मृत्य अनिवार्य र अन्तिम सत्य भए पनि यसलाई सहज तवरले स्वीकार गर्ने, ग्रहण गर्ने शिक्षा र सिपको अभाव छ हामीसंग त्यसैले कठोर मुटु पारेर सहनु पर्छ भन्ने जान्दा जान्दै पनि वियोग पचाउन गाह्रो लाग्छ l भर्खरै हामीबाट मृत्युले खोसेर लगेका नवीन्द्र राज जोशीको परिवार र उनका शुभेच्छुकहरुलाई यस्तै परिस्थिति आयो l नवीन्द्रकाे अन्तिम बिदाई अत्यन्तै भावविव्हल बनाउने बन्यो l आफन्तको चित्कार रोदनले धेरैका आँखा ओभानो रहेनन् l
उनको सवयात्रामा निस्केका देखि उनको मृत्युको खबर सुनेका देश बिदेशमा रहेका नेपाली सम्ममा एकप्रकारको हलचल पैदा भयो l नवीन्द्रराज जोशी कांग्रेसका नेता थिए तर सबैका प्रिय थिए l सबै पार्टीका नेताकार्यकर्ता जोशीलाई मन पराउथे, जोशीको समाजवादी शैली र आचरण सबैको लागि सम्मानको विषय थियो l चर्चाको विषय बन्थ्यो l भनिन्छ नि ‘आँखामा राखे पनि नबिझाउने’ त्यस्तै थिए जोशी l आम नेताहरू आँखी भएको बेला जोशी भने आँखामा राख्दा पनि नबिझाउने अपवाद नेतामा पर्थे l जुन कुराको पुष्टी उनको देहान्त पछि सामाजिक संजालमा व्यक्त शोक मन्तव्यले बताउछ l
जोशीलाई खोस्न मृत्युलाई पनि निकै हम्मे हम्मे पर्यो l एक महिनाको रस्साकस्सी पछि मात्र मृत्युले नवीन्द्रलाई लान सक्यो l गत फाल्गुन १४ गते मस्तिस्कघातको शिकार भएर एक महिना अचेत रहेका जोशी चैत्र १३ गते मात्रै हृदयगति बन्द भएर बिते l चार बिस हिउद नाघेकी वृद्ध आमा गीता जोशी छोराको स्वास्थ्य बुझ्न अस्पताल गएर बसेको अत्यन्तै विरह लाग्दो तस्बिर यस अघि नै सार्वजनिक भएको थियो l सो तस्बिरले मन धेरैको दुखेको थियो l यी आमाले आफ्नो छोरो मृत्युको मुखबाट फिर्ता पाइदिए हुन्थ्यो भनेर नविन्द्रकाे जीवन बचाउन अनेकन प्रार्थना भए पनि l नविन्द्रकाे मृत्यु भएको झुठा खबर पनि हप्ता दस दिन अघि नै भाइरल बनेको थियो l तर मृत्युले हिजोमात्रै शुक्रबार नवीन्द्रलाई झुक्यायो, लग्यो l शनिवार १४ चैत्रको सुर्यास्त संगै जोशीको भौतिक शरीर पनि खरानीमा परिणत भयो तर जोशीको भद्रता, विनायशिलता, इमान र निष्ठा अनि मुस्कानयुक्त अभिबादन सबैको दिल दिमाग र आँखामा छ l
राजनीति अचाक्ली बदनाम भएको बेला राजनीतिका एक सत्पात्रलाई गुमाउनु पर्दा इमान, निष्ठा र असल चरित्रमा अपुरणीय क्षती भएको छ l यति सरल, असल र जनताप्रति समर्पित नेताको असमयको अवसानले दुख नलागेको कसैलाई छैन l सबै दुखी र उदास छन् l एकहोनाहर नेताको बिदाइमा, भौतिक जीवनको पूर्ण विराममा देश आफै शोकमा भए झैँ प्रतीत हुन्छ l इमान र निष्ठाको क्रमशः खडेरी परेको नेपाली राजनीतिमा एक इमानका धरोहर निष्ठाका पर्याय सरल र सालिन व्यक्ति नवीन्द्रराज अस्ताए l कहिल्यै नेपाली धर्ति आकाशमा नउदाउने गरेर l इमानको राजनीति गर्दा गर्दै इमान बिटुलो पार्ने राजनीतिक दाउपेचको अघि जोशीले आफ्नो इमान र जमान भुलेर पनि बिटुलो पारेनन् l
जोशीको सादगी शैली बौद्धिक व्यक्तित्व र मृदु मुस्कान आफ्नो पार्टीमा मात्र सिमित नभएर अरुले बुझ्ने र देख्ने आकर्षण थियो l २०१८ असार ३ गते गजेन्द्र राज जोशी र आमा गीता जोशीका सुपुत्रका रुपमा जन्मेका जोशी नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य देखि महामन्त्री भएका व्यक्ति हुन् l कांग्रेसको केन्द्रिय सद्स्स्यको भूमिकामा रहेका जोशी थोरै समय मन्त्री भएर पनि राम्रो काम गरेर चर्चा पाएका राजनीतिकर्मी हुन् l जनताको इच्छालाई जनताको सेवालाई धर्म ठान्थे l नागरिकलाई समस्या परेको बेला पार्टीले हेर्नुपर्छ राजनीति गर्नेले चुनावको बेला मात्रै सम्झने होइन समस्या परेको बेला उनीहरुको दैलोमा जानुपर्छ भन्ने व्यक्ति संधै जनसम्पर्कमा रहन्थे l कांग्रेस भित्रको अकन्टक बिबादमा आफूले कसैको समर्थन गरे पनि बिबादको छाया सम्म नपरेका निर्विवाद पात्र हुन् l जोशी दम्भ घमण्ड र उदण्डको लेश मात्रै पनि कहिँ कतै देखाउदैनथे l लोकतन्त्र र समाजवाद सुनाउने कुरा होइन यो जीवन शैली र आचरण पद्धति हो भन्ने जोशीमा गणेशमान र किसुनजीले अबलम्बन गर्नु भएको सादगीपन थियो l
पारदर्शिता, इमान्दारिता र नैतिकताका धनी कांग्रेसको रुपमा नवीन्द्रराजलाई कांग्रेसजन र अरु पार्टी र व्यक्तिहरु सम्झना गर्छन l कान्तिपुर कलेज अफ म्यानेजमेन्टका प्रबन्ध निर्देशक जोशी वीर गणेशमान एकडेमीका सभापति समेत हुन् l कमै मान्छेको जानकारीमा रहेको वीर गणेशमान चलचित्रका निर्माता पनि नवीन्द्र राज जोशी हुन् l छोटो समयमा मन्त्री बनेर उल्लेख्य काम गरेर प्रशंसा पाएका थिए जिर्ण उद्योगलाई जीवन दिने प्रयास गरेका थिए l नेपाल औषधि लिमिटेड र उदयपुर सिमेन्ट कारखानाको पुनर्जीवनमा उनको योगदान छ l काठमान्डौको उपमेयर बन्दा खानेपानी ब्यबस्थापनमा गहन भूमिका निर्वाह गरेर आफ्नो ब्यबस्थापकीय क्षमताको परिचय दिएका थिए l उद्योग मंत्री बनेर थुप्रै नीतिगत सुधारको लागि नियमावलीको मस्यौदा तयार गर्ने देखि नियमावली संसोधन जस्ता कार्य जोशीको तदारुकताका साथ भएका थिए l युवा स्वरोजगार कार्यक्रमको उपाध्यक्ष हुदाँ पनि नीतिगत निर्णय लिएर स्वरोजगार सिर्जना गर्ने कामको थालनी गरेर जोशीले आफ्नो क्षमता प्रदर्शन गरेका हुन् l मृत्य पछि सम्झने र चुक चुकाउने चलनको शिकार जोशी पनि बने l कुशल संगठक सुख दुखका नजिकका साथी मृदु भाषी जोशी दृढ विचार र सुसंगत नेतृत्व क्षमताका व्यक्तित्व हुन् l यद्यपि ७४ सालको संघीय चुनावमा जनताको रोजाइमा परेनन् चुनाव हारे l जोशीलाई चुनाव हराउनेहरुको चुकचुकाउने कार्य मृत्यु पछिको नौटंकी मात्रै हो तथापि असल मान्छेलाई समयमा चिन्न नसक्नुको पिडा अबको पश्चातापले कमि हुन्न l
चुनाव हारे पनि, आफ्नो जनतासँगको दायित्व र जनतालाई गर्नुपर्ने सेवामा जोशी कहिल्यै पछि परेनन, अन्यत्र नसके पनि आफ्नो क्षेत्रमा कोरनाबाट बच्ने सामग्री लिएर संधै जनताको घर-घर पुगिरहेका थिए, बिरामीको लागि एम्बुलेन्स उनकै जिम्मा जस्तै थियो l सुख दुख सोध खोज गरिरहेका भेटिन्थे l प्रचारको भोक नपालेका नेता जोशी बौद्धिक नेताको रुपमा पनि सुपरिचित थिए l धेरैमा नहुने धेरै गुणले भरिपूर्ण जोशी उपत्यका कांग्रेसका बलिया खम्बा थिए l कांग्रेस जनको विशेषता र आम नेपालीको विशेषता एकै हो जीवित रहुन्जेल खेद्ने र मृत्यु पश्चात रोइलो गर्ने l
कांग्रेसका समाजवादी नेताहरु जसको जीवन शैली नै दृस्टान्त थियो समाजवादको ती नेताहरु कहिल्यै कांग्रेसको नेतृत्वमा पुग्न सकेनन्, भीम बहादुर तामांग जस्ता नेताले महाधिवेशनमा सभापतिको उमेद्वार बन्दा दुई सय भोट कटाउन सकेनन, रामहरि जोशी उसै बिलाए तर मृत्यपछि भने कांग्रेस केही दिन खुब गज्जबसंग सम्झन्छ, उनीहरुकै बाटोमा हिड्ने प्रतिबद्दता गर्छ तर शोक पुरानो बन्दै गए पछि चै सब बिर्सने आदत कांग्रेसजनको छ l त्यस्तै नहुन नवीन्द्रको नाम र जीवन पद्दति पनि कांग्रेसको लागि ? भौतिक रुपमा नवीन्द्र दाइ हामीबीच नरहनु भए पनि भावनात्मक रुपमा नवीन्द्रदाई हामी सबैको मन मस्तिस्कमा जुग जुग रहनु हुनेछ l अश्रुपूर्ण श्रद्दान्जलीको ! कहिल्यै नओइलाउने मखमली सम्झना र माया प्रिय नवीन्द्र दाइ श्रद्धाको फूल अर्पण गरे ! संधै संधैलाई बिदा !! भावपूर्ण श्रद्दान्जली !!! [email protected]
प्रतिक्रिया दिनुहोस्