१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इंग्ल्यान्डविरुद्धका तीन वटै खेलमा भारतको जित


0
Shares

एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको शृंखला जितेको छ ।

अन्तिम खेलमा इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।

३३० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३२२ रन बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि साम कुरानले अविजित ९५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

बलिङतर्फ भारतका शार्दुल ठाकुरले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा ३२९ रन बनाएको थियो ।

भारतका लागि रिषभ पन्तले ७८, शिखर धवनले ६७, हार्दिक पाण्डेले ६४, रोहित शर्माले ३४ रनको योगदान दिए ।

बलिङतर्फ इंग्ल्यान्डका मार्क वोडले तीन र आदिल राशिदले दुई विकेट लिए । यो जितसँगै भारतले इंग्ल्यान्डविरुद्ध तीन वटै क्रिकेट फर्म्याटको सिरिज जितेको छ ।

यसअघि टेष्ट क्रिकेट र टि–२० क्रिकेट सिरिजको शृंखला पनि भारतले जितेको थियो । यसअघि भारतले पाँच खेलको टि–२० क्रिकेट सिरिज ३–२ ले जितेको थियो ।

त्यस्तै, चार खेलको टेष्ट क्रिकेट सिरिज पनि भारतले ३–१ ले आफ्नो पक्षमा पारेको थियो ।