
काठमाडौं । चिनियाँ अनुदानको आठ लाख डोज कोभिडविरुद्धको खोप आज काठमाडौंमा आइपुगेको छ । चिनियाँ अनुदानको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं आईपुगेको हो ।
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।चीनले नेपाललाई दिएको खोप चीनको राजधानी बेइजिङ हुदै काठमाडौं ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनबाट आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आइतबार चीनको राजधानी बेइजिङ पठाइएको थियो ।
दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई नेपाल ल्याइए पनि प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गरिनेछ । यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ । नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्नेछ ।
चीनले गत फागुन १७ मा नेपाललाई अनुदानस्वरूप आठ लाख डोज सिनोफार्म खोप उपलब्ध गराउने घोषणा गरेको थियो । चीन सरकारले उपलब्ध गराएको खोप कहिलेदेखि र कसलाई दिने भन्ने अहिले नै यकिन भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि भारतले नेपाललाई अनुदानमा दिएको र भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियाबाट खरिद गरिएको कोभ्याक्स सुविधा अन्तर्गतको खोप नेपालले प्राप्त गरिसकेको छ । सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्