६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बागलुङ झडप प्रकरण : गोरेटोभन्दा २ सय मिटर तल शव भेटियो, एकजना पनि पक्राउ परेनन्


0
Shares

बागलुङ । बाग्लुङको निसीखोला र बडिगाड गाउँपालिकामा आइतबार फागू पूर्णिमा मनाउने क्रममा दुई पक्षबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । रङ लगाउने विषयमा भएको वादविवादले झडपको रुप लिँदा दुःखद घटना भएको हो ।

निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमाहोली खेल्दा रङ लगाउने बिषयमा विवाद पछि झडप हुँदा मृत्यु भएका २ जनाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइएको छ । होली खेल्ने क्रममा विवाद हुँदा बडिगाड गाउँपालिका वडा नम्बर १० का युवाहरूको कुटपिटबाट र निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।

घटनाको मुचुल्का उठाई दुवै जनाको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले जानकारी दिनुभयो । दुई जनाको शव गोरेटो बाटो भन्दा करिब २ सय मिटर तल फेला परेको प्रहरी प्रमुख कृष्ण पल्ली मगरको भनाइ छ । प्रहरीले घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा ल्याउन सकेको छैन ।

अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट टोली गएको र नजिकमा रहेका चौकीबाट पनि प्रहरीहरु खटिएको बताइएको छ । १३ जना सम्पर्क बिहीन भएकाहरु युवाहरु राति सम्पर्कमा आएको निसीखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो ।

सम्पर्कमा आएकामध्ये १० जना युवा घाइते भएको प्रहरी उपरीक्षक मगरले बताउनुभयो । घाइते मध्ये ज्ञानु दमाई, मिठे दमाईसहितका युवालाई राति नै उपचारको लागि बुर्तिबाङ पठाइएको अध्यक्ष कुँवरको भनाइ छ ।