१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए


0
Shares

काठमाडौं । नेपालका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

डिफेन्डर विराजले काठमाडौंमा हिजो सम्पन्न थ्री नेसन्स कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।

थ्री नेशन्स कप फुटबलको फाइनल खेल हेर्न दशरथ रंगशाला पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान स्वरुप ब्लेजर लगाईदिएपछि विराजको सन्यासले औपचारिकता पाएको हो ।

थ्री नेसन्स कपको फाइनलमा विराज ८९ औं मिनेटमा त्रिदेव गुरूङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

विराजले राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्षपछि सन्यास लिएका हुन् । उनले सन् २००८ मार्च २५ मा पोखरामा भएको पाकिस्तानविरूद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन् । त्रिपुरेश्वरका स्थायी बासिन्दा विराजले सन् २००७ मा थ्रीस्टार क्लबबाट व्यावसायिक फुटबल यात्रा सुरू गरेका थिए ।

थ्री स्टारबाट ९ वर्ष खेलेपछि उनी २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भएका थिए । सन् २०१९ मा उनी मच्छिन्द्र क्लबमा पुगे ।

उनले खेलेका तीन वटै क्लबलाई लिगको उपाधि जिताएका छन् । राष्ट्रिय टिमबाट ७३ खेल खेलेका विराजले एक अन्तर्राष्ट्रिय गोल पनि गरेका छन् ।

विराजको कप्तानीमा नेपालले तीन वटा अन्तर्राष्ट्रिय उपाधि जितेको छ । नेपालले बंगबन्धु गोल्डकप, १२ औं साग र सोलिडारिटी कप जित्दा उनी कप्तानको भूमिकामा थिए ।

उनले सन्यास लिएको खेल जित्दै नेपालले उपाधि खातामा अर्को एउटा उपाधि थप्न सफल भयो ।