
एजेन्सी । ताजकिस्तानमा जारी ‘हर्ट अफ एशिया’ सम्मेलनमा अफगानिस्तानको शान्ति प्रक्रियाबारे गम्भिर छलफल भएको छ ।
मध्य एसियाली मुलुक ताजकिस्तानको राजधानी दुशान्बेमा जारी सम्मेलनमा अफ्गानिस्तानको तालिवान विद्रोहीसँगको शान्ति सम्झौता सबै पक्षबाट पालना गर्नुपर्ने विषयमा अन्य मुलुकहरुले चासो राखेका हुन् ।
सम्मेलनमा अफ्गानिस्तानसँगै चीन, भारत, पाकिस्तान, टर्की, रुस, इरान काजखस्तान, साउदी अरबिया, युएईलगायतका एक दर्जन भन्दा बढी मुलुक सहभागी छन् । सम्मेलनका सहभागीहरुले अफ्गानिस्तानको शान्ति प्रक्रियालाई संयुक्त राष्ट्रसंघको निगरानीमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
अमेरिकाको मध्यस्थतामा अफ्गान सरकार र तालीवानबीच शान्ति सम्झौता भएपछि क्षेत्रीय चासो बढेको छ । सम्झौताअनुसार यही मे महिनाभित्र अमेरिकी सेनाले अफ्गानिस्तान छाड्नुपर्नेछ ।
तर अमेरिकामा जो बाइडेन राष्ट्रपति निर्वाचित भएसँगै अमेरिकी सेना फिर्ता प्रक्रिया लम्बिने संकेत देखिएको छ । तालिवानले पनि विदेशी सेना फिर्ता नभए उनीहरुमाथिको आक्राण फेरि थाल्ने चेतावनी दिइसकेको छ ।
यस्तो परिवेशमा ताजकिस्तानमा जारी सम्मेलनले सबै पक्षलाई गम्भिर बन्न आग्रह गर्दै शान्ति प्रक्रियाको नेतृत्व राष्ट्रसंघले गर्नुपर्नेमा जोड दिएको हो । ‘हर्ट अफ एशिया’ सम्मेलन सन् २०११ मा टर्कीले सुरु गरेको बहुराष्ट्रिय मञ्च हो । हालसम्म एसियाका १५ देश यसका सदस्य छन् । यसलाई ‘इस्तानबुल प्रोसेस’ पनि भन्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्