
डम्मर बुढा मगर
बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा मोटरबाटो खन्नेक्रममा विवाद हुँदा हँसिया प्रहार भएको छ । हँसिया प्रहारबाट स्थानीय दलसागर पुन घाईते हुनु भएको छ । उहाँको खुट्टामा गम्भीर चोट लागेको छ ।
काठेखोला गाउँपालिकाबाट विनीयोजित रकमबाट करम्दी—जुकेपानी हुँदै सिर्मात जोड्ने मोटरबाटो निर्माणको क्रममा विवाद हुँदा स्थानीय विवेक थापाले हँसिया प्रहार गर्दा पुन घाईते हुनु भएको हो ।
घाईते पुनको तंग्राममा प्राथमिक उपचारपछि धौलागिरि अस्पतालमा उपचार भैरहेको छ । हँसिया प्रहारबाट पुनको खुट्टामा गम्भीर चोट लागेका छ ।
तीन वर्ष अगाडिबाट निर्माण सुरु भएर विगत दुई वर्षदेखि रोकिएको मोटरबाटोको निर्माण यस पटक पुनः सुचारु गर्ने क्रममा विवाद देखिएको हो ।
मोटरबाटो खन्ने क्रममा स्थानीयको जग्गा पर्ने भएपछि जग्गाको विवादका कारण बाटो खन्ने काम अगाडि बढ्न सकेको थिएन ।
यो वर्ष जग्गा दिन सहमत भएका र सार्वजनिक जग्गामा मोटरबाटो खन्ने गाउँपालिकासंगको सम्झौता अनुसार काम अगाडि बढाउने क्रममा आक्रमण भएको करम्दी—जुकेपानी हुँदै सिर्मात जोड्ने मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण पुनले बताउनु भयो ।
‘यो ठाउँमा विवाद त पहिले देखिकै हो, यस पटक हामीले सहमति भएको ठाउँ र सार्वजनिक ठाउँमा मात्रै मोटरबाटो खन्ने गरी अगाडि बढेका थियौं,’ उहाँले भन्नुभयो,‘अचानक असम्बन्धित व्यक्तिहरु आएर हामी माथि हातपात गरे । ज्यानै लिने प्रयास गरी घरेलु हतियार प्रयोग गरेर आक्रमण गर्ने काम भएको छ ।’
टाउकोमा प्रहार गर्न खोजको हँसिया छल्ने क्रममा खुट्टामा लाग्न पुगेको उहाँ बताउनु हुन्छ ।
मोटरबाटो अनुगमन समितिका सदस्य मनिष थापाले मोटरबाटोमा जग्गा पर्नेभन्दा असम्बन्धित व्यक्तिहरुले सांघातिक आक्रमण गरेको बताउनुभयो ।
‘पहिलो हमला म माथि भएको थियो, मैले छलें, दलसागरले पनि छल्न खोज्दा खुट्टामा चोट लागेको हो,’ उहाँले भन्नुभयो, ‘त्यहाँ आक्रमण गर्न आउनेहरुमध्ये कसैको पनि जग्गा मोटरबाटोमा पर्दैन । अहिले जसले सहमति गरेर दिएको छ उसैको जग्गा र सार्वजनिक ठाउँमा मात्रै बाटो खनिएको छ ।’
मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण पुन, अनुगमन समिति सदस्य मनिष थापा, गिरबहादुर पुन, विष्णु आलेलाई मनबहादुर थापा, ईन्द्रबहादुर थापा, चन्द्रबहादुर थापा, लालबहादुर थापा, नगेन्द्र थापा, लगायतले हातपात र आक्रमण गरेको बताईएको छ ।
मोटरबाटो निर्माणका लागि पटक पटक छलफल हुँदा पनि सहमति नजुटेपछि सार्वजनिक ठाउँ र सहमति दिएको ठाउँमा मात्रै बाटो खन्ने काम भए पनि सहमति दिने परिवारलाई पनि धम्क्याउने काम भएको मोटरबाटो निर्माण उपभोक्ता समितिले जनाएको छ ।
अर्को पक्षले भने जबरजस्ती मोटरबाटो नखन्न आग्रह गर्दा स्थानीय वृद्धमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
उपभोक्ता समितिको कुटपिटबाट घाईते भएका भनिएका ७१ वर्षीय चन्द्रबहादुर थापाका छोरा मनबहादुर थापाले सहमति बेगर बाटो नखन्न भन्दा आफ्नो बुबामाथि कुटपिट भएको बताउनु भएको छ ।
कुटपिटबाट घाईते वृद्धको पोखरामा उपचार भैरहेको भनेर उजुरी आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो ।
मोटरबाटो निर्माण उपभोक्ता समितिले भने आफुहरु माथि सांघातिक आक्रमणपछि नक्कली घाईते खडा गरेर पोखरा पठाउने र प्रहरीमा उजुरी दिई घटनालाई राजनीतिक आवरण दिन खोजको आरोप लगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हवारीले दुबै पक्षबाट निवेदन परेको र दुबै पक्षलाई बोलाएर छलफल गरी दोषी पत्ता लगाउने बतानुभयो ।
‘एउटाको खुट्टामा चोट लागेको अस्पतालमा उपचार भैरहेको छ, अर्को पक्षको व्यक्ति उपचार गर्न पोखरा गएको छ भनेर उजुरी आएको छ । हामी दुबै पक्षलाई डाकेर छलफल गर्छौं,’ उनले भने ।
काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले घटनाको बारेमा आफुलाई विस्तृतमा थाहा नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्