
एजेन्सी । सिरियामासक्रिय देखिएको इस्लामिक स्टेटविरुद्ध विश्व एकजुट हुनुपर्ने विश्वका शक्तिशाली राष्ट्रहरूले बताएका छन् । केहिदिन अघि अफ्रिकी मुलुक मोजाम्बिकको पाल्मा शहरमा चरमपन्थीको आक्रमणपछि शक्ति राष्ट्रहरू यसको विरुद्धमा देखिएका हुन् ।
बेल्जियम र अमेरिकाका विदेशमन्त्रीको आह्वानमा भएको भर्चुअल बैठकमा सहभागी विभिन्न देशका प्रतिनिधिहरू इस्लामिक स्टेविरुद्ध देखिएका हुन् । बैठकमा हालैका दिनहरूमा इस्लामिक स्टेटसँग संगठित चरमपन्थी संगठन पूर्वी र पश्चिम अफ्रिकी क्षेत्रमा ठूलो खतरा बन्दै गएकोमा ध्यानाकर्षण गराइएको थियो ।
इस्लामिक स्टेटको विरुद्धमा विश्वका शक्ति राष्ट्रहरूको संगठन नामक उक्त समूहले चरमपन्थी समुहहरू इराक र सिरियामा पनि फेरि आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको दाबी गरेको छ । सन् २०१९ र २०२० मा अफ्रिकी मुलुकहरूमा चरमपन्थी हमलामा एक तिहाइले वृद्धि भएको बताइएको छ ।
इस्लामिक स्टेट विरुद्धमा गठित उक्त संगठनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, यूरोप र अफ्रिकी मुलुक गरी कुल ८३ राष्ट्र सहभागी छन् । विश्वबाट इस्लामिक स्टेटको गतिविधिलाई पूर्णरूपमा विफल पार्नका लागि एक साथ उभिनुपर्नेमा उक्त बैठकले जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्