३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


ओलीद्वारा धनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन


0
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।

भुसाल र पाण्डेसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री ओलीले ६ महिनाका लागि निलम्बन गर्नुभएको हो ।

एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुसालले जवाफ दिएका थिएनन् ।

फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिए पछि उनीहरुले त्यसको जवाफ १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै एमालेले कारबाही गर्ने निर्णय गरेको हो ।

यसअघि ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि निलम्बन गर्नुभएको थियो । अहिलेकै गतिविधि जारी रहे थप कडा कारवाही हुन सक्ने भएकाले सच्चिनका लागि अन्तिम मौका दिइएको निलम्बन पत्रमा उल्लेख छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँताइदिएको थियो । एमाले व्यूँतिएलगत्तै अध्यक्ष समूहले नेपाल पक्षमा केन्द्रीय सदस्यलाई नबोलाई एकलौटी निर्णय गरेपछि नेपाल समूहले पनि समानान्तर कमिटी गठन थालेको छ ।

माधवकुमार नेपाल समूहले बुधबार काठमाडौंमा युवा संघको छुट्टै कार्यालय स्थापना गर्नुभएको थियो भने बिहीबार कास्कीमा समानान्तर कमिटी गठन गरिसकेको छ । कास्कीको समानान्तर कमिटी बनाउन माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे पोखरा जानुभएको थियो ।